६ जेष्ठ २०८१, आइतबार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल जारी छ : मुख्यमन्त्री शाही


Mahendra Bahadur Shahi

३० फागुन, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो केशमा आँफैले अदालतमा गतिविधि सञ्चालन गर्नु गलत भएकोले महाभियोग लगाउनेबारे आफूहरु छलफलमा रहेकोले छिट्टै निर्णयमा पुग्ने स्पष्ट पारेका छन् ।

शाहीले भने,‘उहाँको गतिविधि ठीक छैन, यो राम्रो होईन, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने वा नलगाउनेबारे अहिले छलफल जारी छ, हामी छिट्टै निर्णयमा पुग्छौं, तर अहिले उहाँको विरुद्ध महाभियोग आईहाल्छ, ल्याईहालिन्छ भन्ने छैन ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले अदालत निश्पक्ष हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले त नेपालमा संवैधानिक अंगहरु निश्पक्ष हुन सकेका छैनन्, कहीँ न कहीँ राजनीतिक गन्ध छ, यसको अब अन्त्य गर्न जरुरी छ।’ उनले भ्रष्टाचारको विरुद्धमा लड्ने आफूहरुको अठोट रहेको पनि सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाली समाजको स्कुलिङ् नै सामन्तवाद भएकोले अहिलेपनि नेपालमा मुख्य व्यक्ति वा कुनै निकायको प्रमुख बनेपछि सामन्तवाद देखाईहाल्ने गरेको सुनाए । शाहीले संवैधानिक निकायका प्रमुखहरुदेखि सबै आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने धारणा राखे । उनले भने,‘आफ्नो क्षेत्राधिकार नाघ्ने जो कोहीलाई पनि छुट दिनुहुँदैन्, गलत गर्नेविरुद्ध महाभियोग पनि लगाउनुपर्छ।’

मुख्यमन्त्री शाहीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अहिले नै महाभियोग आईहाल्ने वा ल्याईन्छ भन्ने चाहीँ नरहेको स्पष्ट पारे । उनले भने,‘उहाँका कमजोरीहरुका बारेमा अहिले अध्ययन भैरहेको छ, महाभियोग ल्याउँदा कमजोरी किटानी नै गरेर ल्याईन्छ।’

छोटो समयमा तिव्र विकास हाँसिल गर्नको लागि राष्ट्रिय पुँजीको प्रयोगसँगै अन्र्तराष्ट्रिय पुँजीको पनि सहयोग लिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई थियो । ‘जनतालाई भोकै मर्नुपर्दैन्, अकालमै मर्नुहुँदैन्, नाँगो रहनुपर्ने अवस्था हामी नराखी विकास र समृद्धि दिलाउँछौं, त्यो अनुभव दिलाउँछौं’–उनले भने।

त्यस्तै उनले प्रदेशको विकासको लागि शिक्षा नीति व्यवहारिक बनाउन आफूले आवश्यक निर्देशन दिईसकेको सुनाए । उनले थपे,‘मध्यपश्चिममाञ्चल विश्वविद्यालयका भिसी, डिनसँग कुरा गरें, मैले उहाँहरुलाई व्यवसायिक र व्यवहारिक शिक्षा प्रणाली अपनाउन आग्रह गरेको छु, यो प्रदेशलाई सुहाँउदो शैक्षिक कोर्स समावेश गर्न आग्रह गरेको छु।’

आफूहरु अहिले प्रदेशको लागि चाहिने ऐन तथा कानूनहरु निर्माणमा जुटिरहेको पनि शाहीले जनाए । उनले भने,‘मलाई एक मिनेटपनि फुर्सद छैन, म एनजिओ, आईएनजिओदेखि पार्टीको कार्यक्रममा समेत गएको छैन, यो बीचमा हामीले धेरै मेहनत गरेर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्यौं, प्रदेशलाई चाहिने ऐन तथा कानूनहरुको हामीले डा«फ्ट गरिरहेका छौं, अहिलेसम्म २० वटा जति डा«फ्ट तयार पारेका छौं।’ त्यस्तै प्रदेशको स्वेतपत्र जारी गर्ने अन्तिम तयारीमा आफूहरु जुटेको शाहीले बताए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मुख्यमन्त्री शाहीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका छन् । उनले भने,‘कर्णाली प्रदेशलाई समृद्ध बनाउनुहोस्, जनताको मुहारमा खुशीयाली ल्याउनुहोस्, तपाईको कार्यकाल सफल रहोस्, तपाईका सकारात्मक कामको लागि हामी सँधै सहयोग गर्छौं, क्लब साथमा हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !