१४ बैशाख २०८१, शुक्रबार

भारतले महाकालीका दुइटा काठेपुल हटायो


Mahakali Wooden Bridge

२९ फागुन, दार्चुला । महाकाली नदीमा भारतीय पक्षबाट एकतर्फी बनाइएका चार काठेपुलमध्ये दुइटा पुल हटाइएका छन् ।

फागुन २१ गते भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरुबीच सीमा बैठक भएपछि दुइटा काठेपुल हटाइएका हुन् । सीमा बैठकमा नेपाली अधिकारीहरुले आफ्नो सहमतिबिना काठेपुल राखिएको र नेपाली भूमिको प्रयोग गरी डोजर ढुवानी भएकोप्रति आपत्ति जनाएका थिए । नेपाली अधिकारीहरुसँग बैठकमा गल्ती स्वीकार गरेको भारतीय प्रशासनले बैठकलगत्तै दुइटा काठेपुल हटाएको हो ।

व्यास गाँउपालिकाको वडा नम्बर २ दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा महाकाली नदीमा काठेपुल बनाइएका थिए । नेपालतर्फ मानववस्ती नभएको त्यस क्षेत्रमा भारतले आफ्नो उपयोगका लागि काठेपुल लगाएर नेपाली भूमि प्रयोग गरेको थियो ।

राप्लाको दुम्लिङमा रहेको प्रहरी चौकीको टोलीले स्थलगत भ्रमण गरी दुइटा काठेपुल हटाइएको जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गरेको छ । शुक्रबार र शनिबार दुम्लिङ प्रहरी चौकीको टोलीले सीमाक्षेत्रको गस्ती गरेको थियो ।

नेपालको तम्बाकु र भारतको लखनपुर क्षेत्रमा एउटा तथा नेपालको थीइको भीर र भारतको नजंग भन्ने स्थानमा अर्को गरी अझै दुइटा काठेपुल सञ्चालनमै छन् । तम्बाकु र थिइको भीरमा लगाइएका काठेपुलको प्रयोग केही हप्तापछि व्यास क्षेत्रका नेपालीले पनि गर्नुपर्ने भएकाले तत्काल नहटाउन स्थानीय प्रशासनलाई सुझाव दिइएको छ ।

व्यास गाँउपालिका र त्यसक्षेत्रका स्थानीयवासीले स्थानीय प्रशासनसंग यस्तो अनुरोध गरेका छन् । पिथौरागढको सीमा बैठकमा भारतीय पक्षले सीमावर्ती नेपाली पक्षलाई अस्थायी रुपमा काठेपुल राख्न औपचारिक प्रस्ताव गर्ने र छिटो यसबारे निर्णय गराउन कुटनीतिक प्रयास गर्ने सहमति भएको थियो ।

तर बैठकको सहमति अनुसार भारतीय पक्षले अहिलेसम्म नेपालको स्थानीय प्रशासनलाई पत्राचार गरेको छैन ।

भारतले आफ्नो विदेश मन्त्रालय र काठमाण्डौस्थित राजदूतावासमार्फत कुटनीतिक पहलपनि गर्नेबारे बैठकमा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !