८ पुस २०८१, सोमबार

जम्मा ६५ % मत खस्यो, निर्वाचन शान्तिपूर्ण सम्पन्न सामान्य घटना मात्रै


मंसिर ११, २०७४। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणनाको काम सुरु हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । आइतबारका मतपेटिका सुरक्षित गरी जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्न थालिएको उनले बताए । ‘सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने व्यवस्था गरिएको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको छ ।

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनपूर्व उम्मेदवार केन्द्रित शृंखलाबद्ध विस्फोटका घटना भएपछि गृहले कडा सुरक्षा व्यवस्था गरेको जनाएको थियो । मन्त्रालयले सुरक्षाका कारण कतै पनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमणका घटना पनि नभएको जनाएको छ ।

गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रभावकारी र सुदृढ सुरक्षा व्यवस्थाका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । गृहस्रोतका अनुसार आइतबार दिनभर केही छिटपुट घटना भने भएका थिए । नक्कली बम राखेर मतदाता तर्साउने र निर्वाचन प्रभावित पार्ने प्रयास कैयौं ठाउँमा भए पनि सुरक्षाकर्मीले स्थिति सामान्य बनाएका थिए । आइतबार साँझ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भौगोलिक विकटता, मौसमी अवस्था र केही निर्वाचनविरोधी तत्त्वहरूको छिटपुट अवरोधका बाबजुद निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र निर्भयका साथ उत्साहजनक सहभागितामा सम्पन्न भएको बताएको छ । गृहले यसलाई ‘संघीयता संस्थागत गर्ने एक महत्त्वपूर्ण उपलब्धि’ भनेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !