१४ बैशाख २०८१, शुक्रबार

बेँसीशहर–चामे सडक अवरुद्ध


लमजुङ, २३ असार । अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गए राति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०/२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले हटाउन मुश्किल भइरहेको छ ।” कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १÷२ बजेसम्म लाग्ने उहाँको भनाइ छ । पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन् ।

अविरल वर्षा भएका बेला कुनै पनि समयमा सडकका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ । यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ । त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमीको सो सडक अवरुद्ध बनाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !