१४ बैशाख २०८१, शुक्रबार

काभानाघले गल्ती गरेको जस्तो मलाई लाग्दैन : ट्रम्प


डोनाल्ड ट्रम्प

४ असोज, वासिङ्टन ।  अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गर्नुभएको छ र उहाँका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ ।

आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भन्नुभएको छ ।

ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहनुभएको बताउँदै उहाँबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताउनुभयो ।

काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ ।

फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । काभानाघले फोर्डको आरोप अस्वीकार गर्नुभएको छ र काभानाघ आफैंले न्यायिक समिति समक्ष उपस्थित भएर जवाफ दिन तयार रहेको बताउनुभएको छ ।

फोर्डका कानुन व्यवसायीहरुले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताउनुभयो ।

विगतमा समेत राष्ट्रपतिबाट सिफारिस र मनोनयन गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइकै क्रममा एफबीआईलाई अनुसन्धानका लागि आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो । (रासस/ एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !