३ असार २०८१, आइतबार

प्रधानमन्त्री मोदी र युरोपेली परिषदका अध्यक्षबीच फोनवार्ता


२६ वैशाख, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली परिषदका अध्यक्ष चाल्र्स माइकेलबीच बिहीबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री मोदीले बिहीबार युरोपेली परिषदका अध्यक्ष चाल्र्स माइकेललाई फोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले शुक्रबार बिहान जानकारी दिएका छन् ।

उहाँहरुबीच भारतमा पछिल्लो समयमा बढ्दो कोभिड १९ को संक्रमण र यसको चुनौतीका विषयमा कुराकानी भएको पनि उक्त समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले शुक्रबार बिहान प्रकाशन गरेको विज्ञप्तिका अनुसार उहाँहरु दुई जनाले भारत र युरोपमा कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका साथै उपचारका क्रममा देखा परिरहेका चुनौतीहरुका बारेमा छलफल गर्नुभएको थियो ।

उहाँहरुले आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि आवश्यक सहयोग र समन्वयलाई अघि बढाउने विषयमा सहमति गर्नुभएको थियो ।

त्यस क्रममा उहाँहरुबीच आगामी ‘भारत इयु’ सम्मेलनको सम्मेलनका लागि एजेन्डा तय गर्ने विषयमा पनि सहमति गर्नुभएको थियो ।

उहाँहरुबीच यस महामारीको नियन्त्रणपछिको अवस्थाका लागि आवश्यक आर्थिक सहयोग तथा अन्य आर्थिक एजेण्डाका विषयमा पनि आपसमा सम्पर्कमा रहने विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री मोदीले बिहीबार यसबारेमा ट्वीट गर्नुभएको छ । आफ्नो ट्वीट अकाउन्टमा उहाँले भन्नुभएको छ– मैले युरोपेली परिषदका अध्यक्षसँग फोनमा कुराकानी गरेको छु । युरोपेली परिषद र भारतबीच सम्बन्धको महत्व मात्र होइन नयाँ क्षेत्रमा खोजी र अनुसन्धानका क्षेत्रहरुमा पनि ठूलो सम्भावना रहेको छ ।

उहाँले सो ट्वीटमा भन्नुभएको छ – हामीले भारत र युरोपेली युनियनले आगामी दिनमा यो कोरोना भाइरसको महामारी नियन्त्रणका क्षेत्रमा के कसरी मिलेर काम गर्न सक्छौँ र यो महामारीको अन्त्यपछि पनि आर्थिक सुधारका क्षेत्रमा पनि के कसरी मिलेर अघि बढ्न सक्छौँ भन्ने बारेमा कुराकानी भएको छ ।

यो कोभिड १९ संक्रमणले युरोपेली देशहरुलाई पनि नराम्ररी प्रभावित पारेको छ । बेलायत, इटाली, स्पेन, बेल्जियम, फ्रान्सलगायतका देशमा यस संक्रमणबाट दशौँ हजार मानिसको ज्यान गएको छ ।
यसैगरी भारतमा पनि यस कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयकाअनुसार शुक्रबार बिहानसम्म यस संक्रमणबाट १ हजार ८८६ जनाको मृत्यु पनि भएको छ भने दिनहूँ हजार भन्दा बढीको संख्यामा विरामी थपिने क्रम पनि जारी नै छ । भारतको सो मन्त्रालयलकाअनुसार शुक्रबार बिहानसम्म यो रोगका ३७ हजार ९१६ जना संक्रमित अस्पतालमा उपचार गराइरहेका छन् ।

भारत सरकारले पनि पछिल्ला दिनहरुमा देशव्यापी लकडाउन गरिरहेको छ । यस अवस्थालाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले यही मे ४ देखि लागू हुनेगरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !