५ जेष्ठ २०८१, शनिबार

चीनले न्यूयोर्कका लागि १,००० थान भेन्टिलेटर सहयोग


China Flag China Flag

न्यूयोर्क, २३ चैत । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताउनु भएको छ ।

गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिनुभयो । अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उहाँले बताउनुभयो ।

“हामी सबै एउटै युद्धमा छौं । सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं” कुमोले भन्नुभयो । उहाँले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो संख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गर्नु भयो । उहाँले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिनुभयो । न्यूयोर्कका गभर्नर कुमो र आफूबीच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट गर्नु भयो ।

यसैगरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दशलाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले एन९५ सुरक्षात्मक मास्क क्यानाडा र अन्य मुलुकमा निकासमा प्रतिबन्ध लगाउने बताउनु भएको छ ।

संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या तीन लाख नाघेको छ भने ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ हजार ५०० न्यूयोर्क राज्यका रहेका छन् ।

चीन र ओरेगन राज्यबाट भेन्टिलेटर उपलब्ध भए पनि न्यूयोर्क राज्यका गभर्नर कुमोले राज्यका निजी स्वास्थ्य संस्थाहरुलाई आफूसँग रहेका भेन्टिलेटरहरु कोरोनाभाइरसका बिरामीका लागि पनि उपलब्ध गराउन आदेश दिनु भएको छ ।

राष्ट्रपति ट्रम्पले संघीय सरकारले न्यूयोर्कको जाभिट्स कन्भन्सन सेन्टरमा दुई हजार ५०० शैयाको फिल्ड अस्पताल निर्माण गर्न लागेको र त्यहाँ अमेरिकी सैनिकले सेवा दिने बताउनुभयो । सेनाले सञ्चालन गर्नेगरी लुजियाना र डल्लासमा पनि यस्तै अस्पताल बनाइने राष्ट्रपति ट्रम्पले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !