२० बैशाख २०८१, बिहिबार

फेयर प्लेका कारण जापान नकआउट चरणमा प्रवेश


japan-football-team

१५ असार, काठमाडौं । कोलम्बिया र जापान विश्वकपको समूह एचबाट क्रमशः विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूहको दुई खेल सकिँदा ४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले पराजित भयो । अर्कोतर्फ कोलम्बियाले सेनेगललाई पराजित गरेपछि उसले ६ अंकसहित समूह विजेताका रुपमा छनोट भयो ।

पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।

विश्वकप इतिहासमै पहिलो पल्ट कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको हो । समूह चरणकाे खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलाे कार्ड बेहाेरेकाले उ अर्काे चरणमा पुग्न सफल भएकाे हाे । सेनेगलले  तीन खेलमा गरी ६ वटा पहेँलाे कार्ड पाएकाे थियाे भने जापानले ४ वटा पहेँलाे कार्ड पाएकाे थियाे ।

रुसको भोग्लोग्राड एरिनामा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डले गोल गरेको थियो । खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो ।

यसअघि नै विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डले एक जितसँग विश्वकपको सुखद अन्त्य गरेको छ ।

यता कोलम्बियाले पनि सेनेगललाई १–० ले नै हरायो । पहिलो हाफ उसले पनि बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सेनेगलको बलियो रक्षापंक्ति तोड्दै यारी मिनाले गोल गरे ।

खेलको ७४औं मिनेटमा फर्नान्डो क्वीन्टेरोको कर्नर प्रहारलाई मिनाले पेनाल्टी एरिनाबाट हेडमार्फत गोल गरेका थिए । यही गोलले कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो ।

प्रिक्वार्टरफाइनलमा कोलम्बियाले समूह जीको विजेता र जापानले उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । समूह जीको विजेताको छिनोफानो गर्न आज राति पौने १२ बजे इंग्ल्याण्ड र बेल्जियम भिड्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !