८ बैशाख २०८१, शनिबार

चीनद्वारा ताइवानको भ्रमण गरेकी अमेरिकी संसदकी सभामुख पेलोसीमाथि प्रतिबन्ध


न्यान्सी पेलोसी ताइवान भ्रमण

काठमाडौँ । चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको छ । चीनले भर्खरै ताइवानको भ्रमण गरेकी अमेरिकी संसदकी सभामुख पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको हो ।

चीनले आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै आज शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको बताएका छन् ।

साथै उनले पेलोसीको ताइवान भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको बताएका छन् ।

अमेरिकी संसदकी सभामुख पेलोसी बेइजिङले अहिलेसम्म प्रतिबन्ध लगाएको सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी भएको ब्लूमबर्गले जनाएको छ । चीन पेलोसीको ताइवान भ्रमण नहोस् भन्ने चाहेर अमेरिकालाई सो भ्रमण रोक्न धम्की समेत दिएपनि उनले ताइवान भ्रमण गरेकोले चीन थप आक्रोशित भएको हो ।

चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा सुरु भएदेखि नै विरोध जनाउँदै आएका थिए । हालै पेलोसीले ताइवानको भ्रमण गरेकोले चीन आक्रोशित भएर र ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास जारी राखेको छ ।

ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरिया हुँदै जापान पुगेकी छन् । त्यहाँ उनले ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले आफूले भ्रमण नगरेको स्पष्ट पारेकी छन् । चीनले पेलोसीको प्रतिनिधिमण्डलमा सहभागी भएका अन्य सांसदहरूलाई पनि प्रतिबन्ध लगाउने बताएको छ ।

यस्तै रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले हिजो बिहीबार अमेरिकी संसदकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई “दुर्भावनापूर्ण उत्तेजना” भनेका छन् । आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन् ।

मेदभेदेवले यो भ्रमण एशियामा अन्तरराष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन् । पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ । यसरी रुस एक चीन नीतिको पक्षमा चट्टान झैँ चीनको पक्षमा उभिएको छ ।

यो पनि पढ्नुहोस्

चीनले ताइवान वरपर गर्‍यो अहिलेसम्मकै ठूलो सैन्य अभ्यास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !