९ जेष्ठ २०८१, बुधबार

तीन मिनेटमा दुई गोल, इन्टरमाथि युभेन्टसको जित


football

एजेन्सी, १६ वैशाख ।  इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले शनिबार राति इन्टर मिलानलाई पराजित गरेको छ । रोमान्चक बनेको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित इन्टरलाई ३ – २ ले हराएको हो ।

इन्टरको मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डुग्लास कोष्टा र गोन्जालो हिगुईनले समान एक एक गोल गरे । युभेन्टसले एक गोल आत्मघाती उपहार पाएको थियो । इन्टरका मिलान स्क्रिनिअरले आत्मघाती गोल गर्दा माउरो इकार्डीले एक गोल फर्काए । यस्तै इन्टरलाई युभेन्टसका आन्द्रिया बर्जाग्लीले एक आत्मघाती गोलको उपहार दिएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा कोष्टाले १३ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १५ मिनेटमा मटिअस भेसीनोले रातो कार्ड खादै मैदानबाट बाहिरीएपछि घरेलु टोली इन्टर पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफमा १ – ० ले पछि परेको इन्टरले दोस्रो हाफमा सुरुवातमै बराबरी गोल फर्कायो ।  खेलको ५२ औं मिनेटमा इन्टरका इकार्डीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । खेलको ६५ औं मिनेटमा युभेन्टसका बर्जाग्लीले आत्मघाती गोल गरेपछि इन्टरले २ – १ को अग्रता बनायो ।

तर, खेलको अन्तिम ३ मिनेटभित्र दुई गोल गर्दै युभेन्टसले जित निकाल्यो । खेलको ८७ औं मिनेटमा इन्टरका स्क्रिनिअरले आत्मघाती गोल गर्दा खेल २ – २ को बराबरीमा पुग्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा हिगुईनले गोल गर्दै युभेन्टसलाई ३ – २ को महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै युभेन्टसले सिरी ए फुटबलको उपाधि जित्ने सम्भावना कायम राखेको छ । जितपछि युभेन्टसले ३५ खेलबाट ८८ अंक जोडेको छ । युभेन्टस दोस्रो स्थानको नापोली भन्दा ४ अंकले अघि छ । एक खेल कम खेलेको नापोलीको ८४ अंक छ ।
लिगमा युभेन्टसले ३ र नापोलीले ४ खेल खेल्न बाँकी रहेकोछ । पराजित इन्टर ६६ अंक जोडेर पाँचौ स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !