२२ बैशाख २०८१, शनिबार

आइपिएल : मुम्बईलाई कम रन बनाएर पनि हैदराबादले जित्यो


IPL

एजेन्सी, १२ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार बेलुका भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको हो ।

जारी ११ औँ सिजनमा सबैभन्दा कम रनको लक्ष्य दिएर पनि हैदराबाद विजयी भएको हो । हैदराबादले प्रस्तुत गरेको ११९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर मात्रै ८७ रन बनायो ।

मुम्बईका सूर्यकुमार यादवले ३८ बलमा ३४ तथा क्रुणाल पाण्डयले २४ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । हैदराबादका सिद्धार्थ कौलले तीन तथा राशिद खान र बासिल थम्पीले दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको हैदराबादले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ११८ रन बनायो । यो यसपटकको प्रतियोगितामा पहिले ब्याटिङ्ग गरेको टिमले बनाएको अहिलेसम्मको कम स्कोर हो ।

उसका लागि कप्तान केन विलियम्सन र युसुफ पठानले समान २९ रन बनाए । खराब प्रदर्शन गरेर पनि हैदराबादले यो खेलमा जित दर्ता गरेको हो ।

६ खेलमा चौथो जित निकालेको हैदराबाद ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । यस्तै ६ खेलमा पाँचौँ हार बेहोरेको मुम्बई भने दुई अंकसहित सातौँ स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !