२० बैशाख २०८१, बिहिबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त, अविश्वासको प्रस्ताव बहुमतले पारित


इमरान खान

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसंगै उनी पदमुक्त भएका हुन् ।

शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका हुन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पाकिस्तानका पहिलो प्रधानमन्त्री भएका छन् ।

पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३४२ जना सांसदमध्ये १७४ जनाले पक्षमा मतदान गरेका थिए ।  अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन् ।

यसअघि खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए । केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए ।

खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

हिजै प्रधानमन्त्री अविश्वासको प्रस्तावका लागि हुने भनिएको मतदान बारम्बार स्थगित हुँदा पाकिस्तानका विधायकबीच झडप भएको थियो । पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रिय सभामा आक्रोशित भएर झडप गरेका थिए ।

विपक्षीहरुले सत्तारुढ दलका सदस्यहरूले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका थिए । उनीहरूले मतदान प्रधानमन्त्री इमरान खानको पक्षमा नआउने देखेपछि सरकारले आफ्नो पार्टीबाट नियुक्त अधिकारीलाई गलत मनसायका लागि प्रयोग गरी मतदानलाई लम्ब्याएको आरोप विपक्षी नेताले लगाएका थिए ।

विदेशमन्त्री कुरेसीले आफ्नो दलको तर्फबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू लाग्नु राजनीतिक जिम्मेवारी भएको बताएका थिए । शनिबार अपरान्ह दोस्रो पटक मतदान कार्यक्रम स्थगन गरिएको थियो ।

यद्यपि पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शेहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण जसले आफ्नो जिम्मेवारी सम्हाल्छ उसलाई खानलाई जस्तै सङ्कटले पिरोल्ने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !