५ जेष्ठ २०८१, शनिबार

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने


Flag_of_Iran

भियना । राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नु हुने भएको छ । आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लाग्नु भएको हो ।

राष्ट्रसंघको भियना कार्यालयका लागि इरानका राजदूत काजिम घारीबाबाडीले ट्वीटर मार्फत यस्तो घोषणा गर्नु भएको हो । उहाँले आणविक एजेन्सीसँग भएको सम्झौता बमोजिम एजेन्सीले अनुगमन गर्ने र निरन्तर एजेन्सीको सम्पर्कमा इरान रहेको पनि बताउनुभयो ।

युरोपको एक कुटनीतिक स्रोतले पनि आइएईएका उपमहानिर्देशक अपारोले इरान भ्रमण गर्न लाग्नु भएको पुष्टि गरेको छ । इरानको नटान्ज आणविक प्रशोधन केन्द्रमा प्रयोग गरिएका सेन्ट्रीफ्युजको अवस्थाका बारेमा अनुगमनकर्तालाई पूर्ण पहुँच दिएको छ छैन भन्ने बारेमा उपमहानिर्देशकले जानकारी लिनु हुनेछ ।

गत अप्रिल ११ मा नटान्ज आणविक केन्द्रमा विस्फोट भएसँगै इरानले आइएईएको पहुँचलाई सीमित गरेको छ । तर आगामी केही दिनभित्रै राष्ट्रसंघीय अनुगमनकर्ताहरुलाई पूर्ण पहुँच दिइने स्रोतको भनाई छ ।
इरानले बिस्फोटका लागि इजरायलमाथि दोषारोपण गरिरहेको छ ।

आइएईएका प्रवक्ताले इरानी आणविक कार्यक्रमको अनुगमनको सिलसिलामा उपमहानिर्देशक अपारोले नियमित अन्तरालमा इरानको भ्रमण गरिरहनु भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !