डेलावर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले वासिंटन डिसी प्रस्थान गर्नुअघि डेलावरमा विशेष सम्बोधन गर्ने क्रममा भावुक हुँदै रोएका छन् । आफ्नो नयाँ सपथग्रहण समारोहको पूर्व सन्ध्यामा गरिएको सम्बोधनमा उनी किन रोए भन्ने चासो विश्वभर बढेको छ ।
अमेरिका जस्तो संसारको शक्तिशाली देशको राष्ट्रपतिमा निर्वाचित बाइडेन आफ्ना दिवंगत जेठा छोरा बोउ बाइडेनलाई सम्झेर भावुक हुँदै आँशु थाम्न नसकेर रोएका हुन् । उनका दिवंगत जेठा छोरा बोउ बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो ।
जो बाइडेन आफू नभएर आफ्ना यी जेठा छोरा बोउ बाइडेनलाई अमेरिकाको राष्ट्रपति बनाउन चाहन्थे । तर विधिको विडम्वना भन्नुपर्छ, उनका छोराको मृत्यु भएतापनि ७८ वर्षको वृद्ध उमेरमा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्न सफल भए ।
तर संयोग नै भन्नुपर्छ उनका छोरो बोउ बाइडेनको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो भने उनी पनि अमेरिकाको ४६ औ राष्ट्रपति बनेका छन् । यसले गर्दा ४६ अंक जो बाइडेनको लागि ब्याड लक र गुड लक दुवै सिद्ध भएको छ ।
उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने २ जना छोराहरु बोउ बाइडेन र हन्टर बाइडेन घाइते भएका थिए । यसैले गर्दा पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् ।
बाइडेनले आफ्नो राजनीतिक यात्राका लागि सबैलाई धन्यवाद समेत दिदै हिजो भनेका थिए, ‘म डेलावरको छोरो हुन पाएकोमा गौरव गर्दछु । यो राज्यले मेरा बुबाआमालाई सबैभन्दा धेरै आवश्यक भएको बेलामा आश्रय दियो । हामी जुन स्थानमा पुग्यौं, त्यो यो राज्यले बनायो ।’
आज जनवरी २० तारिकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रमको लागि विशेष समारोहको आयोजना गरिएको छ ।
जो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरु
तस्वीरहरु : विभिन्न न्युज एजेन्सीहरुवाट