६ जेष्ठ २०८१, आइतबार

आगलागी नियन्त्रण गर्न चुल्हो बाल्ने समय तोकियो


nepali-kitchen nepali-kitchen

रौतहट—दिनदिनै आगलागी घटना हुन थालेपछि रौतहटमा सर्वसाधारणले खाना बनाउन चुल्हो बाल्ने समय तय गरिएको छ। चुलोबाटै अधिकांश आगलागी घटना भएको देखिएपछि दिउँसो चुलो बाल्नेलाई २५ हजार जरिवाना गर्ने निर्णय समेत एउटा गाविसले गरेको छ।
रौतहटको संग्रामपुर गाविसले बिहान आठ बजेअघि नै चुलो निभाइसक्नु पर्ने निर्णय गरेको हो। गाविस कार्यालयमा बोलाइएको स्थानीय भद्रभलादमी, राजनीतिक कार्यकर्ता, बुद्धिजीवी, शिक्षकको भेलाले साँझ सात बजेदेखि नौ बजेसम्म अनिवार्य रुपमा खानाको सम्पूर्ण काम सिध्याएर चुलो निभाउनु पर्ने निर्णय गरेको छ। तय गरिएको समयबाहेकको समयमा कसैले चुलो बालेको पाइए पहिलो पटक पच्चीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको गाविसका प्राविधिक सहायक सिकिन्दर पटेलले बताए।

गत दुई दिनमा रौतहटको आधा दर्जनभन्दा बढी गाउँमा आगलागी हुँदा करोड बढीको धनमाल नष्ट भएको छ। आगलागीको घटना बढेपछि स्थानीयस्तरमा गाविस, विभिन्न गैरसरकारी संस्था र जिल्ला स्तरमा जिल्ला प्रशासन कार्यालयले नियन्त्रणका लागि प्रयास थालेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले दैवी प्रकोप उद्धार समितिमार्फत पीडितलाई राहतको व्यवस्था गर्न थालिएको बताएका छन्। स्थानीय तहमा खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने कार्यमा जुटेका गैरसरकारी संस्थाहरुलाई समेत आगो नियन्त्रण गर्न र सचेत गराउनका निर्देशन दिएको बताएका छन् ।

जिल्लाको तीनवटै नगरपालिका गौर, गरुडा र चन्द्रनिगाहपुरमा रहेको बारुण यन्त्रलाई गाउँमा आगो लागेको खबर आउना साथ नियन्त्रणको लागि जान निर्देशन दिएको प्रजिअ बरालले बताए।

अहिले गँहु तथा मसुरो भित्र्याउने र खेतीपाती गर्ने समय भएकाले अधिकांश गरिब परिवारका मान्छेहरु ज्याला मजदुरी गर्न घर छाडेर बाहिर जाने गर्छन्। घरमा खाना पकाएर चुल्होमा त्यतिकै आगो छोडेर जाँदा आगजनी हुने खतरा बढी हुने गरेको देखिएको छ।

घरमा चुल्हो बाली खाना पकाएर आगो त्यसै छोड्दा दिउँसो हावा हुरीले आगोको झिल्का उडाएर फुसको घरमा आगो लाग्ने गरेको छ। अति सुख्खा मौसम र खरको छानोमा सानो झिल्कोले गाउँ टोल नै सखाप पार्न थालेपछि खाना पकाएपछि तत्कालै आगो निभाउनु पर्ने र चुलोको आगो पूर्ण रुपमा निभिसकेपछि मात्र अन्य कार्य गर्नु पर्ने नियम समेत स्थानीयस्तरमै बनाउन थालिएको हो।

बिजुली सर्ट भई आगो लाग्ने घटना बढेको पाइएकोले गाउँमा हुकिङ गर्नेलाई समेत सचेत गराइएको छ। चोरी गरेर बिजुली बाल्ने गर्नाले पनि आगलागीको घटना भएको देखिएकोले चोरी नगर्न सचेत गराइएको र हुकिङ गरेको पाइए पाँच हजार रुपैया जरिवाना गर्ने सामूहिक निर्णय गरिएको समेत संग्रामपुरका प्राविधिक सहायक पटेलको भनाइ छ।

आगो लागेपछि नियन्त्रण गर्न निकै मुस्किल पर्ने र लाखौँको सम्पत्ति क्षणभरमै स्वाहा हुने भएकोले सचेतताको लागि रौतहट उद्योग वाणिज्य संघले पनि दिउँसोको समयमा होटलमा चुलो नबाल्न तथा खाना पकाउने ग्याँसको सावधानीपूर्वक प्रयोग गर्न होटल व्यावसायीलाई आग्रह गरेको छ । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कन्थमुनि प्रसाद जयसवालले भने – दाउरा बालेर होटल व्यावसाय गर्नेहरुलाई संस्थागत रुपमै सचेत गराइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !