२३ बैशाख २०८१, आइतबार

खानेपानी समस्या समाधान गर्न माग


Water supply

काठमाडौँ, ३१ जेठ । दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब आठ हजारले खानेपानीका लागि दैनिक आधादेखि दुई घण्टासम्म धाउनुपरेकाले न्याय अधिकार संस्था (जुरी नेपाल), गोगो फाउण्डेशन र जागरण मिडिया सेन्टर सहित ३० स्थानीय प्रतिनिधिले स्थानीयवासीको हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

जुरी नेपालकी अध्यक्ष शर्मिला श्रेष्ठले दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ को समस्या सुनाउँदै खानेपानी अभावका कारण जनजीवन निकै कष्टर भइरहेकाले समस्या शीघ्र समाधान गर्न आग्रह गर्नुभयो । सांसद केसीले उनीहरूले भोगिरहेको समस्या समाधान गर्न प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निःशुल्क स्वास्थ्य शिविर

नेपाल विज्ञापन सङ्घ (आन)ले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्त सङ्कलन गरेको छ ।

सो अवसरमा आज नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य शिविरमा ८० जना लाभान्वित हुनाका साथै रक्तदानबाट २२ पिन्ट रगत सङ्कलन गरिएको थियो ।

सोही अवसरमा काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी, मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले आनले सामाजिक काममा निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभयो ।

आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !