१४ बैशाख २०८१, शुक्रबार

मध्यपहाडी लोकमार्ग : म्याद सकिन लाग्दा ग्राभेल मात्रै


Nepalpatra

रवीन्द्र काफ्ले फिदिम, १५ जेठ । पाँचथरमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य निर्धारित समयमा पूरा नहुने भएको छ । निर्माणाधीन लोकमार्गमा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अवधि पूरा हुनलाग्दा सडक ग्राभेल बनाउने कार्य मात्रै पूरा हुने भएको हो ।

लोकमार्गको उद्गम बिन्दुसमेत रहेको पाँचथरमा अझै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । पाँचथरमा लोकमार्गको १११ किलोमिटर दूरी छ । यसमध्ये ४० किलोमिटर मेची राजमार्ग पर्दछ । मध्यपहाडी लोकमार्गको ११ किलोमिटरको जोरसाल–माझीटार खण्ड तथा नौ किलोमिटरको गणेश–दारिम्बा खण्ड कालोपत्र बनेको तीन वर्ष पूरा भइसकेको छ तर, बाँकी ५१ किलोमिटर सडक भने आगामी आर्थिक वर्षमा मात्रै कालोपत्र हुने भएको छ ।

सो लोकमार्ग आयोजना पूर्वी खण्डका प्रमुख अभिमनदास मुल्मीका अनुसार पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बाबाट सोही गाँउपालिकाको वडा नं २ चिवाभञ्ज्याङसम्म सडक ग्राभेल गर्ने कार्य पूरा हुनलागेको छ । दारिम्बाबाट १० किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ भने बाँकी खण्डमा समेत ग्राभेल निर्माण भइरहेको छ । उक्त खण्डमा पर्ने पाँच पुल निर्माणको कार्य पूरा भएको छ । यस खण्डमा छाँगे पुल १ र २, खलुवा पुल र ओसाङ पुल २ र ३ पर्दछन् ।

निर्माण व्यवसायीको ढिलासुस्ती, निरन्तरको वर्षा, निर्माण सामग्रीको अभाव तथा ढुवानीमा समस्या हुँदा निर्धारित समयमा निर्माण सम्पन्न नभएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख मुल्मीका अनुसार दारिम्बा–चिवाभञ्ज्याङ खण्डमा चालू आवको अन्त्यसम्ममा निर्माणकार्य सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो तर सम्झौताअवधिमा ग्राभेल निर्माणको कार्य मात्रै पूरा हुनेछ ।

मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख दीपक केसीले निर्माण व्यवसायीले जिम्मेवारीबहन गर्न नसक्दा दारिम्बा–चिवाभञ्ज्याङ खण्डको निर्माणकार्य समयमै पूरा नभएको बताउनुभयो । “पटक–पटक ताकेता गरेका कारण मात्रै ग्राभेलसम्म निर्माण भएको हो”, केसीले भन्नुभयो, “उच्चपहाडी क्षेत्र भएका कारण निर्माणकार्यमा समस्या हुने गरेको छ ।” अधिक वर्षा हुनाले केही महीना कामदारले काम गर्न नसक्ने अवस्था रहेको आयोजना प्रमुख केसीको भनाइ छ ।

निर्माणमा ढिलाइ भएको लोकमार्गको संसद्को विकास तथा प्रविधि समितिले स्थलगत अवलोकन गरेको छ । समितिका सदस्य गणेशकुमार पहाडीका अनुसार समितिले सिन्धुपाल्चोकदेखि पाँचथरसम्म गरेको स्थलगत अनुगमनका क्रममा सरकारी निकाय, स्थानीयवासी र निर्माण व्यवसायी निर्माण ढिलाइ हुनुमा जिम्मेवार देखिएका छन् ।

“पूर्वतयारी नगरी ठेक्का प्रक्रिया अघि बढाउँदा निर्माणकार्य अघि बढ्न नसकेको, ठेकेदारले भुक्तानी नपाएको भेटियो”, सांसद पहाडीले भन्नुभयो, “ठेकेदारले समेत धेरै ठाउँमा हेलचेक्र्याइँ गरेको पाइयो ।” उहाँका अनुसार मुआब्जा वितरणमा रहेको दोहोरो प्रावधानका कारणसमेत सडक निर्माण र विस्तारमा समस्या भएको छ । निर्माण व्यवसायीले स्थानीय तहहरुसँग समन्वय नगर्दासमेत समस्या सिर्जना भएको समितिको ठम्याइ छ ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले लोकमार्गको निर्माणमा एकरुपता नहुँदा थप समस्या भएको बताउनुभयो । “कतै कालोपत्र सकियो, कतै ट्र्याक पनि राम्रोसँग खोलिएको छैन”, उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजनाको निर्माणमा न्यूनतम एकरुपता कायम हुन नसक्नु दुखद् छ ।” उहाँले निर्माणकार्य अघि नबढ्नुमा सरकारी पूर्वतयारीको अभाव पनि मुख्य रहेको औँल्याउनुभयो ।

समितिले लोकमार्ग निर्माणको गति, गुणस्तर, विद्यमान समस्या, सरकारी अनुगमन, स्थानीयस्तरबाट प्राप्त सहयोग र समन्वयका विषयमा साताव्यापी स्थलगत अनुगमन गरेको हो । संसद्को विकास तथा प्रविधि समितिकी सभापति खड्काका अनुसार सरकारले आगामी आवको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य पूरा गर्ने लक्ष्य लिएको छ ।

समितिका सदस्य राजेन्द्रकुमार राईका अनुसार स्थानीयस्तरमा प्रभावकारी समन्वयको अभाव, जग्गा प्राप्तिमा समस्या तथा निर्माण व्यवसायीको क्षमतामा समस्या देखिँदा लोकमार्ग समयमै पूरा हुननसकेको हो । निर्माण कम्पनीले धेरै आयोजनाको ठेक्का लिने गरेको, सार्वजनिक खरीद ऐन तथा नियमावलीका कारण द्रुतगतिमा कार्य अघि बढाउन समस्या भएको समितिको ठम्याइ छ ।

समन्वयको अभाव

मध्यपहाडी लोकमार्गको सबैभन्दा बढी नयाँ सडक निर्माण हुने स्थान याङवरक गाउँपालिका हो । यहाँ नौ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने ५१ किलोमिटर कालोपत्र हुने बाँकी छ । याङवरक गाँउपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले केही स्थानमा सडक बनिनसक्दै भत्किएको तर त्यहाँ कसले, कसरी मर्मत गर्ने भन्नेबारे अन्योल रहेको बताउनुभयो । उहाँले सडकको क्षेत्राधिकारबारे स्थानीय तहलाई प्रष्ट नपारिँदा सडक अतिक्रमण गरेर घर निर्माण गर्ने क्रम बढेको बताउनुभयो ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले नयाँ सडक निर्माणका क्रममा स्थानीयस्तरमा प्रभावकारी समन्वय हुन नसक्दा काम सुस्त बनेको बताउनुभयो । सरोकारवालाले पाँचथरमा निर्माणाधीन खण्डसँगै ठेक्का लागेका लोकमार्गका अन्य जिल्लामा पर्ने विभिन्न खण्डमा कालोपत्र भइसक्दा यहाँ ग्राभेलसमेत नभएको भन्दै असन्तुष्टि जनाएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !