४ जेष्ठ २०८१, शुक्रबार

सामाजिक सुरक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड


Nepalpatra

काठमाडौँ, ६ जेठ । श्रमिकको जीवनस्तरलाई सुधार्न सामाजिक सुरक्षा ऐनमा व्यवस्था गरिएकाले अविलम्ब यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

श्रमिक महिला रक्षा सङ्घद्वारा यहाँ आज आयोजित अन्तरक्रियाका सहभागीले उक्त ऐनले योगदानमा आधारित सामाजिक सुरक्षाका विषयमा स्वरोजगार र अनौपचारिक क्षेत्रलाई समेटेकाले चाँडो लागू गर्न माग गर्नुभएको हो । औपचारिक क्षेत्रमा भने श्रमिकले सामाजिक सुरक्षा प्राप्त गरिरहेका छन् । प्रदेशसभा सदस्य भीमसेन खत्रीले कुनै कारणले कामदार अशक्त भएमा सम्बन्धित व्यक्ति र आश्रित परिवारलाई सहयोग गर्ने उद्देश्यले सबै दलको समन्वयमा ऐन ल्याइएको बताउनुभयो । उहाँले त्यसलाई चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभा सदस्य बेलीमैयाँ घलेले रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने र उनीहरुले श्रमिकलाई पनि सूचीकृत गर्नुपर्ने व्यवस्था ऐनमा भएका कारण श्रमिक लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले ऐनले सामाजिक सुरक्षा कोषको परिकल्पना गरेकाले श्रमिकको योगदानमा आधारित सुरक्षाको हक सुनिश्चित गर्ने बताउनुभयो । ट्रेड युनियनकर्मी बमबहादुर डिसीले अनौपचारिक क्षेत्रमा क्रियाशील कामदारको ट्रेड युनियनमा अभिलेख नरहेका कारण उनीहरुको सामाजिक सुरक्षा व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो ।

यस्तै रक्षा नेपालका अध्यक्ष मेनका थापा, आयोजक संस्थाका अध्यक्ष सबिना लिम्बूलगायतले मनोरञ्जन क्षेत्रका करीब ६ लाख श्रमिक पनि अनौपचारिक क्षेत्रमा गणना हुने हुँदा उनीहरुले गर्ने श्रमको योगदानका आधारमा सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !