६ जेष्ठ २०८१, आइतबार

बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम


Nepalpatra

खोटाङ, १ जेठ । बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले आयोजना गरेको सवारी चालक तालीममा पहिलो चरणअन्तर्गत हलुका सवारीसाधन चलाउन सिकाइने जनाइएको छ । तालीममा सहभागीलाई दक्ष चालक बनाउन ह्याभी (ठूला सवारी) चलाउन सक्नेगरी अर्को चरणको तालीमसमेत दिइने गाउँपालिकाले जनाएको छ ।

तालीममा गाउँपालिकाका छ वडाका पाँच/पाँचका दरले १८ वर्षदेखि ३७ वर्ष उमेर समूहका युवाको सहभागिता रहेको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “रोजगारीको अभावमा युवाशक्ति विदेशिनेक्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “बढ्दो युवाशक्ति विदेशिनेक्रमलाई न्यूनीकरण गर्दै आफ्नै देशमा स्वरोजगार बनाउन तालीमको व्यवस्था गरिएको हो ।”

रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालन गरिएको तालीममा हलुका सवारीसाधनअन्तर्गत जिप हाँक्ने तालीम सञ्चालन भइरहेको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायतलाई समेत स्वरोजगारमूलक तालीमको व्यवस्था गरेको छ ।

महिलाका लागि ढाका बुनाइ तथा सिलाइ/कटाइ, दलितका लागि आरन व्यवस्थापन तथा आधुनिक औजार निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि उनीहरुको क्षमताअनुसार तालीमको व्यवस्था गरिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । जीवन निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउनसमेत गाउँपालिका लागिपरेको जनाइएको छ ।

कृषकलाई फूलको बीउ, प्लाष्टिक र हजारी वितरण

महिला लक्षित कार्यक्रमअन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाले बेमौसमी पुष्पखेती गरिरहेका कृषकलाई टनेल निर्माणका लागि प्लाष्टिक वितरण गरेको छ । नगरपालिका–७ महादेवस्थानस्थित प्रगतिशील पुष्पखेती समूहका २० महिला कृषकलाई प्लाष्टिक वितरण गरिएको हो ।

नगरपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत विनियोजन गरिएको रु दुई लाख बजेटबाट २० थान प्लाष्टिक खरीद गरेर वितरण गरिएको नगरपालिकाले जनाएको छ । व्यावसायिक रुपमा फस्टाउँदै गएको पुष्पखेतीलाई प्रोत्साहनस्वरुप नगरपालिकाले यसअघिदेखि नै सहयोग गर्दै आएको छ ।

सोही बजेटबाट नगरले पुष्पखेती गरिरहेका उक्त समूहका कृषकलाई फुलको बीउ/बिजन र पानी लगाउने हजारीसमेत वितरण गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीका कृषक पछिल्लो समय व्यावसायिक फूलखेतीमा लागिपरेका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा पछिल्लो समय पुष्पखेती तथा व्यवसाय फस्टाउँदै गएकाले नगरको तर्फबाट सहयोग गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । पुष्पखेतीबाट हप्तामा एक व्यक्तिले रु तीन हजार ५०० सम्म आम्दानी लिने गरेका छन् । आफूले उत्पादन गरेको पुष्प (फूल)को माग बढेसँगै हलेसी क्षेत्रका कृषक उत्साहित हुँदै गएका छन् । कृषकले उत्पादन गरेको पुष्प (फूल) हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर तथा जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ ।

गत वर्ष नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोगबाट शुरु भएको पुष्पखेतीले राम्रो उपलब्धि गरेको उपप्रमुख विमला राईले बताउनुभयो । हलेसीका कृषकले उत्पादन गरेको फूलले बजारको मागअनुसार पूरा गर्न सकेकोे र उत्पादन बढ्दै गएमा नगरको तर्फबाट बाहिरी बजारमा समेत सम्पर्क गरिदिने जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !