११ जेष्ठ २०८१, शुक्रबार

मानवअधिकारको अवस्था सोचेजस्तो सुधार भएन


Nepalpatra

बलेवा, २२ वैशाख । देशमा राजनीतिक र सामाजिक अवस्था फेरिए पनि मानवअधिकारको अवस्थामा भने सोचेजस्तो सुधार हुननसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

छुवाछुत, विभेद, राजनीति र सामाजिक क्षेत्रमा फेरिएर आइरहेको टिप्पणी मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुको तहमा शुरु भएको छ । राजनीतिक अधिकारसमेत संविधानले तोकेअनुसार नपाएर महिला, दलित, अपाङ्गता र सीमान्तकृत पीडित भइरहेको अधिकारकर्मीको भनाइ छ । फरक÷फरक दलको उम्मेदवार भएकै कारण महिला कुनै पनि पदमा नपुगेका धेरै उदाहरण जिल्लामै भेटिएको अधिकारकर्मी विकास पौडेलले बताउनुभयो ।

उहाँले कानूनमै अनिवार्य सहभागिताका लागि उम्मेदवार छनोटदेखिनै व्यवस्था गर्नुपर्ने धारणा पनि राख्नुभयो । राजनीतिक अधिकार, सामाजिक, सांस्कृतिक अधिकारजस्तै खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकारलाई स्पष्ट रुपमा ल्याउन प्रशासक र राजनीतिक नेतृत्वलाई उहाँले आग्रह पनि गर्नुभयो । कानूनी रूपमा बाध्य भएको खण्डमा मात्र यस्ता विषयले समावेश पाउने उहाँकोे निष्कर्ष छ ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा शनिबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा मानव अधिकारको अवस्था, अधिकारकर्मीको अवस्था र मानवअधिकार रक्षकको अवस्थाबारे सामूहिक छलफल गरेको सङ्कल्प फाउण्डेशन गण्डकी प्रदेशकी अध्यक्ष सावित्री खड्काले बताउनुभयो ।

आयोगका सचिव बेदप्रसाद भट्टराईले आयोगको ऐन संशोधन विधेयकले नागरिकको अधिकार कुण्ठित हुने बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विरोधका स्वर शुरु भइसकेकाले फिर्ता हुनसक्ने बताउनुभयो ।

नगरकोे सहयोगमा आधुनिक प्रयोगशाला

बागलुङको गल्कोट नगरपालिकाको सहयोगमा यहाँको एक विद्यालयले आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

गलकोट नगरपालिकाको नरेठाँटीस्थित महेन्द्र माध्यामिक विद्यालयमा यसै शैक्षिकसत्रदेखि आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रयोगशालाका लागि गलकोट नगरपालिकाले रु छ लाख ५० हजार सहयोग गरेको छ । विद्यार्थीको शिक्षण सिकाइमा सघाउने उद्देश्यले विज्ञान प्रयोगशाला स्थापना गरिएको विद्यालयले जनाएको छ । विज्ञान विषयका विद्यार्थीका लागि प्रयोगशाला उपयोगी हुनेछ । विद्यालयको माग र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको नगरका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

रु दुई लाख ३० हजारका फर्निचर र रु चार लाख ३४ हजारका प्रयोगशालाका सामग्री खरीद गरिएको विद्यालयका प्रधानाध्यापक रेम कार्कीले बताउनुभयो । “किताबका चित्र देखाएर सिकाउने गरेकोमा प्रयोगशाला स्थापना भएपछि अहिले व्यवहारिकरूपमै सिकाउँछौँ”, कार्कीले भन्नुभयो, “अब विज्ञान विषयको शिक्षण सिकाइमा सहजता आउनेछ, विद्यार्थीले प्रयोगात्मक विधिबाट सिक्नेछन् ।” पुरानो प्रकृतिको प्रयोगशाला रहेको विद्यालयमा आधुनिक प्रविधियुक्त सामग्रीको अभाव थियो । प्रयोगशाला कक्षा ६ देखि १० सम्मका विद्यार्थीले पालैपालो प्रयोग गर्ने व्यवस्था विद्यालयले मिलाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !