२२ बैशाख २०८१, शनिबार

पिके डाँडा : नजीकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल


Nepalpatra

२८ चैत, पिके । सगरमाथा रहेको तथा मनोरम हिमशृङ्खला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । आठ हजार मिटरमाथिका छ हिमशृङ्खलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन तथा दृष्यावलोकनका हिसाबले अति नै महत्वपूर्ण छ । समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको उक्त डाँडासहित आसपासका क्षेत्र समेटेर पर्यटन प्रवद्र्धन गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य हुने जनाइएको छ ।

यहाँबाट देखिने सुन्दरता र प्राकृतिक छटा नियाल्ने पर्यटक दोहो¥याएर आउने गरेको पिके बेस क्याम्पका पर्यटन व्यवसायी झोङ्बु शेर्पाले बताउनुभयो । सो क्षेत्रबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, नुप्चे र मकालुलगायत हिमाल देख्न सकिने स्थानीयवासीको भनाइ छ ।

सरकारले गत वर्ष मात्रै प्रमुख १०० पर्यटकीय गन्तव्य क्षेत्रमा समावेश गरेपछि पर्यटन विकासका दृष्टिले पिकेले नयाँ फड्को मारेको छ भने स्थानीयवासीले पर्यटकीय गतिविधि सञ्चालन गर्न थालेका छन् । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन यस क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्ने अपेक्षा उनीहरुको छ ।

ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङ्वाङ्ङिमा शेर्पाले शेर्पा संस्कृति र दृष्यावलोकनका लागि आकर्षक गन्तव्य मानिने सोलुखुम्बुको लिखुपिके गाउँपालिका र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई जोडेर पर्यटन प्रवद्र्धन अभियान थालिएको बताउँदै अहिले साहसिक पदयात्रा गर्न रुचाउने पर्यटकको आकर्षक गन्तव्य बनेको उल्लेख गर्नुभयो ।

आइतबार चौथो पटक पिके डाँडा पुग्नुभएका जापान फुजिहाराकी साइयाले यहाँको प्राकृतिक सुन्दरताले लोभ्याएको बताउनुभयो । नेपालमा २८ चोटि भ्रमण गर्दा यहाँबाट मनमोहक दृश्य देख्ता पिकेले सधैँ लोभ्याइरहने उहाँले अनुभव सुनाउनुभयो । गणेश हिमालदेखि खुम्बुको कुनाकाप्चा देखिने भएकाले आफूले पर्यटकलाई यही क्षेत्रमा ल्याउने गरेको नेपाल ट्रेकका पर्यटन गाइड वीरबहादुर मगरले बताउनुभयो ।

पर्यटकीय महत्व भएर पनि यहाँ छिटफुट पर्यटक मात्रै आउने गरेका छन् । स्थानीयवासी छेपाल शेर्पाले पर्याप्त प्रचारप्रसार र पूर्वाधार निर्माण हुन सके पिकेको भविष्य उज्ज्वल छ भन्दै यस पटक यही चैत २३ गते पहिलो हाफ म्याराथन तथा चैत २२ र २३ गते पर्यटन महोत्सव नै आयोजना गरिएको बताउनुभयो ।

यहाँको चुप्लुङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर पदयात्रा मार्ग निर्माण भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का महासचिव आङ्पेम्बा शेर्पाले पदयात्राका लागि सो क्षेत्र नयाँ रहेको बताउँदै यहाँबाट पूर्वको कञ्जनजङ्घादेखि पश्चिममा धौलागिरिसम्मका हिमाल देख्न सकिने बताउनुभयो । छोटो समयमा पुगेर दृष्यावलोकन गर्न सकिने सो क्षेत्र प्रकृतिको अनुपम उपहार भएको उहाँको भनाइ छ ।

पिके डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुलदेवतालाई सम्झेर यहाँ शेर्पाहरु पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला लाग्छ । शेर्पा समुदाय धूप (सुनपाती) टिप्नका लागि पनि यहाँ पुग्छन् ।

सुन्दर भौगोलिक बनोट रहेको पिकेमा काठमाडौंँबाट करीब १४० किमीमा पर्ने खिजीदेम्बा, धुलिखेल, खुरकोट, रामेछापको मन्थली हुँदै लिखु खोला तरेर धोबी हुँदै पुगिन्छ । शेर्पा सुमदायको बाहुल्य रहेकाले उनीहरुको मौलिक संकृति र रीतिरिवाजको अध्ययन अनुसन्धान तथा अवलोकनका लागि समेत यो ठाउँ महत्वपूर्ण छ ।

केही वर्षअघिदेखि सञ्चालनमा आएको पिकेदेम्बा ट्रेलका कारण यहाँ विस्तारै स्वदेशी र विदेशी पर्यटकसमेत आउन थालेका छन् । झण्डै ३६० डिग्रीको कोणमा नजीकबाट हिमाल देखिने क्षेत्र नेपालमा कमै रहेको टानका सूचना प्रविधि अधिकृत पेम्बा शेर्पाले बताउनुभयो ।

प्राकृतिक सौन्दर्य र भौगोलिक विविधताले भरिपूर्ण पिके डाँडा साहसिक पर्यटन तथा हिमशृङखलाको मनोरम दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्य हो । सम्भावना भएर पनि ओझेलमा परेको सो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर सोलुखुम्बुको लिखुपिके र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका बासिन्दा जुटेका छन् ।

यहाँ दुई दर्जनभन्दा बढी गुराँस प्रत्यक्ष हेर्न जोकोही लालायित हुन्छन् । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भियाउने लक्ष्य पूरा गर्न यहाँको धार्मिक, साहसिक खेलकूद र आरोहणले सहयोग पुग्ने देखिन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !