१४ बैशाख २०८१, शुक्रबार

अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कक्ष


Nepalpatra

१४ चैत, डोटी । जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक जोरायल गाउँपालिकामा प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको हो ।

जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा सङ्घ डोटीले पुनःस्थापना कक्षको स्थापना गरेको छ । उक्त कक्ष अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर फिजियोथेरापी पद्धतिबाट उपचार गर्नका लागि स्थापना गरिएको अपाङ्ग सेवा सङ्घ डोटीका कार्यक्रम संयोजक नवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई फिजियोथेरापी पद्धतिबाट उपचार गर्नका लागि सजिलो होस् भनेर कक्ष सञ्चालन गरेका छौँ, अपाङ्गता भएका व्यक्तिले सेवा पाउनेछन् भन्ने आशा लिएका छौँ ।”

अपाङ्गता भएका व्यक्तिलाई उपचारदेखि अन्य कुरामा सहुलियत होस् भन्ने उद्देश्यले उक्त पुनःस्थापना कक्ष गाउँपालिका र युएमएन मिलेर शुरु गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको अपाङ्गता भएका व्यक्तिलाई उपचारमा सहुलियत होस् भन्ने हो ।” सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलोपटक यस्तो कक्ष शुरु गर्नु गाउँपालिकाका लागि खुसीको कुरा भएको अपाङ्गता समन्वय समितिका संयोजक तथा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो ।

उक्त पुनःस्थापना कक्षमा हाललाई फिजियोथेरापीका लागि युएमएनले व्यवस्थापन गर्ने र पछि गाउँपालिकाले व्यवस्था गर्ने गरी सहमति भएको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिनुभयो ।

विपत् जोखिम न्यूनीकरणमा प्राथमिकता
जिल्लाको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले विपत् जोखिम न्यूनीकरणलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीद्वारा दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा बुधबार आयोजना गरिएको संवाद कार्यक्रममा उहाँले नगरपालिकाले ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ जारी गरिसकेको जानकारी दिनुभयो । हरेक वडामा स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति गठन भई सक्रिय रहेको पनि उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख शिवराज खड्काले नगरपालिकामा आपत्कालीन सूचना केन्द्र व्यवस्थापनलाई प्रभावकारी बनाइने बताउनुभयो ।

सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले स्थानीय सरकारसँगसँगै आफूहरु पनि सक्रिय भएर विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुदाय प्रहरी साझेदारी फलदायी

जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।

उक्त कार्यक्रमका कारण डोटीमा हुने विभिन्न आपराधिक क्रियाकलाप तथा घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँगाउँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि घटना र आपराधिक क्रियाकलापमा कमी आएको पाएका छौँ ।”

समाजमा हुने गरेका लैङ्गिक हिंसा, घरेलु हिंसा, सामाजिक विकृति विसङ्गतिको अन्त्य गरी समुदायसँगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ डोटी प्रहरीले जिल्लाव्यापी रूपमा सञ्चालनमा ल्याएको समदाय–प्रहरी साझेदारी अभियान कार्यक्रम डोटीका गाउँगाउँमा फलदायी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै फलदायी भएको, नागरिकले पनि शुरक्षा पाएको अनुभूति गरेका छन् ।”

प्रहरीले समय–समयमा विभिन्न कार्यक्रम तथा अभियानमार्फत लैङ्गिक हिंसा, छाउपडीको अन्त्य, बालविवाहकोे अन्त्य, आपराधिक गतिविधिको अन्त्य गरी शान्त समाज निमार्णमा अहम् भूमिका खेलिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । समुदायमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने हेतुले हामी जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रम गर्दै आइरहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !