२२ बैशाख २०८१, शनिबार

खानेपानीको अभाव


Water supply

१२ चैत, फिदिम । पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको पाइपलाइन भीरको टाकुरामा खुस्किएपछि फिदिममा खानेपानीको अभाव भएको छ ।

आयोजनाको फिदिम नगरपालिका–१ नाम्दु खोलास्थित छङछङे झरना छेउभीरको टाकुरामा डिआइ पाइपको जोड्नी (कब्लिङ) खुस्किएपछि खानेपानीको प्रवाह अवरुद्ध भएको हो । खानेपानी अवरुद्ध भएसँगै फिदिममा खानेपानीको अभाव भएको छ । खानेपानी लिन स्वच्छ पिउने पानीका धारामा स्थानीयवासीको भीड जम्मा हुने गरेको छ ।

भौगोलिक विकटताका कारण आयोजनाको पाइप नाम्दु खोलामा केही गहिराइमा झारेर पुनः माथि ल्याइएको छ । ठूलाठूला चट्टान र भीर रहेका कारण यहाँ पाइपलाइनलाई सिधा ल्याउन नसकिएको हो । पाइपलाइन सिधा नभएपछि पानीको दवाबका कारण पाइप जोडिएको ठाउँ अड्याउन राखिएको ‘ब्लक’ भत्किएको थियो । ब्लक भत्किएपछि कब्लिङ खुस्किएको हो । फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईका अनुसार पानीको दवाबका कारण पाइप जोडिएको ठाउँ (कब्लिङ) खुस्किएको थियो ।

कब्लिङ खुस्किएपछि उक्त स्थानमा पुनः पाइप जोडेर ब्लक निर्माण गरिएको थियो । अध्यक्ष भट्टराईका अनुसार ब्लक सुकेपछि गत ६ गते पानी सञ्चालनमा ल्याइएको थियो । तर, पानीको दवाबका कारण आधा घण्टा बित्न नपाउँदै पुनः ब्लक भत्कियो र कब्लिङ खुस्कियो । गहिरोमा पर्ने उक्त स्थानमा पानीको अत्यधिक दवाब हुँदा ब्लकले नधानेको आयोजनाका कर्मचारीको भनाइ छ । पानी प्रवाह भएको समयमा पाइप हल्लने (भाइब्रेट) हुने गर्दछ । निरन्तरको भाइब्रेटपछि ब्लक भत्किएको उनीहरुको भनाइ छ ।

उक्त स्थानमा पछिल्लो पटक एउटा ब्लक र दुई वटा सहयोगी (सपोर्ट) ब्लक निर्माण गरिएको छ । ब्लक भत्कन नदिन यस पटक आयोजनाको निर्माण ‘स्टिमेट’मा भएभन्दा फरक रड र तार जाली समेतको प्रयोग गरी ब्लक निर्माण गरिएको छ । आइतबार ब्लक निर्माण कार्य पूरा भएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उक्त कङ्क्रिट ब्लक सुक्न कम्तीमा ९० देखि एक सय घण्टा लाग्छ । ब्लक सुक्ने बित्तिकै आयोजनाको पानी सुचारु हुने अध्यक्ष भट्टराईले बताउनुभयो ।

सर्वपक्षीय अनुमगन

खानेपानीको अभाव चर्किएपछि उपभोक्ता मारमा छन् । उपभोक्ता समितिले अन्य स्रोतबाट खानेपानीको प्रबन्ध गरे पनि त्यो प¥र्याप्त हुन सकिरहेको छैन । उपभोक्ताको गुनासोपछि आइतबार जिल्लास्थित कार्यालयका प्रतिनिधिले आयोजनामा भएको समस्याको स्थलगत अनुगमन गरेका छन् । आइतबार जिल्ला समन्वय समितिका सदस्य नरबहादुर गुरुङ, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रकाश अधिकारी लगायतले आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो ।

निकै ठूलो मेहनत गरेर निर्माण गरिएको आयोजना अप्ठ्यारो ठाउँमै भत्किएपछि समस्या भएको भेटिएको जिल्ला समन्वय समितिका सदस्य नरबहादुर गुरुङले बताउनुभयो । पन्ध्र बढी कामदारले नियमित काम गरेर ब्लक निर्माणको कार्य पूरा गरेको पाइएको भन्दै गुरुङले चाँडै उक्त आयोजना नियमित हुने विश्वास व्यक्त गर्नुभयो । गतवर्ष निर्माण सम्पन्न भएको आयोजनाबाट झण्डै ५० हजार स्थानीयवासी लाभान्वित छन् ।

समस्या टार्दै समिति

खानेपानीको हाहाकार हुन नदिन उपभोक्ता समितिले विगतमा सञ्चालनमा रहेका साना खानेपानी आयोजनाको पानी सङ्कलन गरी समानुपातिकरूपमा सबै क्षेत्रमा वितरण गर्दै आएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । प्रतिसेकेण्ड ६ लिटर आउने नाम्दुको पानी, प्रतिसेकेन्ड एक लिटर आउने बर्मेलीको पानी र प्रतिसेकेण्ड आधा लिटर आउने सिस्नेखोपको पानी सङ्कलन गरी भल्भ परिवर्तन गर्दै उपभोक्तालाई पानी वितरण गर्दै आएको अध्यक्ष भट्टराईको भनाइ छ ।

“बृहत् आयोजना सञ्चालन नहोउञ्जेल खानेपानीको हाहाकार हुनबाट रोक्न धेरै खटेर पानी सङ्कलन गरी वितरण गर्दै आएका छौँ” भट्टराईले भन्नुभयो ।

आयोजनामा समस्या आएपछि नगरपालिकाले आफ्नो दमकलको सहायतामा उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उक्त कार्यमा नगरपालिका–४ का अध्यक्ष प्रकाश गुरुङ नै खटिनुभएको छ । फिदिम बजार, गढीसहित आसपासका क्षेत्रमा खानेपानीको हाहाकार हुनबाट रोक्न दमकलमा पानी जम्मा गरी वितरण थालिएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !