९ जेष्ठ २०८१, बुधबार

खेतीमा आधुनिक प्रविधि भित्रिएन


Nepalpatra

१ चैत, रुकुम (पूर्व) । पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबीउसँगै विभिन्न आधुनिक कृषि प्रविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छन् । अहिलेसम्म खेतबारी खनजोतका लागि हल गोरु र काठबाट बनेको हलो र जुवाको प्रयोग भइरहेको छ ।

खेतबारीमा प्राङ्गारिक मलको प्रयोग भइरहेको छ । “अन्य ठाउँमा ट्याक्टरले छिटोछरितो खनजोत गर्ने गरेको सुनेको छु”, पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का तेजकुमार पुनले भन्नुभयो, “हामी भने अहिलेपनि गोरु नारेर खेतबारी जोत्छौँ, समय खर्चिलो हुने गर्दछ ।”

परम्परागत रुपमा गरिने खेती प्रणालीले समय सँगसँगै खनजोतका लागि जनशक्ति पनि धेरै नै आवश्यक पर्छ । अन्नबाली उत्पादन वृद्धि गर्नका लागि कृषकलाई आवश्यक ज्ञान सीप नहुँदा पनि पुरानै शैलीमा गरिने खेतीबाट उत्पादनमा वृद्ध हुन नसकेको किसानहरु बताउँछन् ।

यहाँका अधिकांश वासिन्दा कृषि व्यवसायमै निर्भर रहेपनि सिँचाइ सुविधा नहुँदा आकाशेपानीमा निर्भर रहनुपरेको छ । समयमै आकाशबाट पानी प¥यो भने बाली सप्रन्छ, पानी परेन भने किसानको दुःख खेर जाने गर्दछ । अहिले विकासको गतिसँगै जिल्लाका दुर्गम क्षेत्रमा सडक विस्तारको काम हँुदै गर्दा सबैको रोजाइमा दाङ, नेपालगञ्जबाट भित्रिने चामल र दाल परेको छ ।

“हामी मरीमरी पसिना बगाइ खेतीपाती लगाइन्छ, गाउँको उत्पादन बिक्री हुँदैन”, भूमे गाउँपालिका–२ का किसान सन्तु बुढामगरले भन्नुभयो, “कहिले पानी नपरेर बाली उम्रिंदैन त कहिले रोग लागेर बाली सप्रिदैन”, त्यस्तो अवस्थामा गहुँबालीमा कुन रोग लागेको हो र कस्तो औषधि प्रयोग गर्नुपर्छ भन्ने कुरा हामी किसानलाई थाहा हुँदैन ।

वर्षाले किसानलाई राहत

यस वर्ष भएको पटक–पटकको वर्षाले गहुँबालीलाई ठूलो राहत मिलेको छ । लामो समयपछि खेतबारी भिज्ने गरी पानी परेपछि गहुँबालीमा ठूलो राहत मिलेको हो ।

“सिचाइ अभावले ओइलाउन लागेका गहुँबारी हराभरा भएका छन्”, सिस्ने गाउँपालिका–५ का किसान वसन्त बस्नेतले भन्नुभयो, “यसपालि पटकपटक भएको वर्षाले गहुँबालीलाई राम्रो भएको छ ।” तरकारी खेती र हुर्कदै गरेको बिरुवालाई पनि ठूलो राहत मिलेको उहाँको भनाइ छ ।

विगतका वर्षहरुमा समयमै आकाशबाट पानी नपर्दा गहुँ उत्पादनमा कमी आएको थियो । यस वर्ष भने जिल्लाको गहुँ उत्पादनमा वृद्धि हुने भएको छ । यसपालि समयमै वर्षा भएपछि रुकुम(पूर्व) का किसानलाई राहत पुगेको हो । यसै वर्षको पुस, माघ र फागुुनमा धेरै पटकसम्म पानी परिसकेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो भने अन्य क्षेत्रमा पानी परेको हो । आकाशे पानीको भरमा बाली लगाउने यहाँका किसान पानीले खेतबारी भिजेपछि खुसी भएका छन् ।

गत वर्ष जिल्लामा प्रतिहेक्टर क्षेत्रफल जमीनमा दुई मेट्रिक टनको दरले गहुँ उत्पादन भएको कृषि शाखा रुकुमकोटले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष भने गहुँ उत्पादनमा २५ प्रतिशतले वृद्धि हुने कृषि शाखा रुकुमकोटका प्रमुख जयकिशोर साहले बताउनुभयो । “बोट हेरेर पनि थाहा पाउन सकिन्छ, खेतबारी नै हराभरा भएको छ”, प्रमुख साहले भन्नुभयो, “यस वर्ष उत्पादनमा वृद्धि पक्का छ”, गहुँ उत्पादनमा वृद्धि हुने भएपछि किसान खुशी छन् ।

गहुँका विभिन्न परिकार बनाउन सकिन्छ । गहुँबाट भात, रोटी, ढिँडो, सातु, लिटो, जार, पकौडा, सेल, पुरीलगायतका परिकार बनाउन सकिन्छ । यसैगरी गहुँको डाँठ (नल) कुखुराको दाना, घर छाउन, आगो बाल्न, गाईबस्तुलाई खुवाउनका लागि प्रयोग गरिन्छ । प्रत्येक वर्षको कात्तिक र मङ्सिरको महीनामा गहुँ बाली लगाइन्छ भने चैत र वैशाखमा भित्र्याइन्छ ।

गहुँ रुकुम पूर्वको मकैपछिको दोस्रो प्रमुख खाद्यान्न बाली हो । जिल्लामा कूल क्षत्रफलको चार हजार २०० हेक्टर क्षेत्रफल जमीनमा गहुँ उत्पादन भइरहेको छ । परापूर्वकालदेखि नै यहाँका नागरिकले गहुँ उत्पादन गर्दै आएका छन् । यहाँका अधिकांश नागरिकले सात महीना मकै र पाँच महीना गहुँले वर्ष धकेल्ने गर्दछन् । खेतीपाती र पशुपालनबाट यहाँका वासिन्दाको गुजारा चल्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !