१३ मंसिर २०८१, बिहीबार

मजदुरका बालबालिका हेर्दै रोटरी


Nepalpatra

३० फागुन, चितवन । भरतपुर रोटरी क्लबले मजदुरी गर्ने अभिभावकका स्कूल पठाउनुपूर्वका बालबालिकालाई दिवाकक्षा सञ्चालन गर्दै आएको छ । क्लबले भरतपुर महानगरपालिका–३ बेलचोकमा दिवाकक्षा सञ्चालन गर्दै आएको हो ।

क्लबका परियोजना संयोजक प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्वीडेनको डिजुर गार्डेन स्टक होम रोटरीसँग सहकार्य गरेर ३९ हजार ५०० डलर खर्च गरी दिवाकक्षा सञ्चालन गरिरहेको बताउनुभयो । दिवाकक्षामा बाबुआमा मजदुरी गर्न जाँदा घरमा एक्लै वा सँगै लैजानुपर्ने बाध्यता भएका दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई राखिएको उहाँले बताउनुभयो ।

ती बालबालिकालाई बिहान ९ः३० बजेबाट साँझ ४ बजेसम्म दिवाकक्षामा राखिँदै आएको छ । तीन शिक्षक राखेर ती बालबालिकालाई पढाउने, खेलाउने, खुवाउने, सरसफाइ गरिदिने, विभिन्न ठाउँमा घुमाउन लैजाने गर्दै आएको भरतपुर रोटरी क्लबका कोषाध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । दिवाकक्षामा ३५ बालबालिका रहेका छन् । क्लबले तेस्रो वर्ष दिवाकक्षा सञ्चालन गरिरहेको हो । यो परियोजनाको अन्तिम वर्ष हो । हालसम्म ७६ बालबालिकाले दिवाकक्षाबाट सेवा लिइसकेका छन् । क्लबले तीन वर्षमा १०० बालबालिकालाई यो सेवा दिने लक्ष्य लिएको छ ।

परियोजना संयोजक ढकालले रोटरीले दिगोपना हेर्ने बताउँदै परियोजना अवधिपछि पनि यस्ता बालबालिकालाई सेवा दिने उद्देश्यले काम गरिरहेको बताउनुभयो । यसका लागि अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक नन्दप्रसाद जोशीले रु १० लाखको अक्षयकोष खडा गरिसकेको उहाँले बताउनुभयो । रोटरीले यो परियोजना तयार गर्दा भरतपुर रोटरी क्लबले ५०० डलर, स्वीडेनको डिजुर गार्डेनले १० हजार डलर, डिजुरको डिष्ट्रिक क्लबले ११ हजार डलर र रोटरी इन्टरनेशनले बाँकी रकम जम्मा गरी ३९ हजार ५०० डलरमा यो परियोजना शुरु भएको हो ।

परियोजनामा साथ दिने डिजुरले यसपछि १० हजार डलर सहयोग गर्ने आश्वासन दिएको ढकालले बताउनुभयो । रकम खोजी यस्ता बालबालिकालाई हाल सञ्चालन गरेका कक्षा नियमित गराउने उहाँले बताउनुभयो ।

रङ्गशाला निर्माणमा सहयोगको प्रतिबद्धता

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा यहाँ निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आवश्यक सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी र उद्योगी व्यवसायीले प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले बुधबार आफ्नै कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले यसलाई जिल्लाले अपनत्व लिनुपर्ने जनाएका छन् ।

फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ मा रहेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा रङ्गशाला निर्माण गर्दैछ । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, गीता वाग्ले र रीना गुरुङले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताउँदै जिल्लाका उद्योगी व्यवसायीलाई सहयोगका लागि आह्वान गर्नुभयो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कर्मचारीका तर्फबाट गर्नुपर्ने सहयोग जुटाउने काम आफूले गर्ने बताउनुभयो । उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, चेम्बर अफ कर्मश चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडी, नागरिक समाज चितवनका उपाध्यक्ष नारायणसिंह कँुवर, व्यवसायी हरि भण्डारी, रवीन्द्र बराललगायतले जनताबाट उठ्ने पैसा पारदर्शी गर्न आग्रह गर्दै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने र गर्न लगाउने बताउनुभयो ।

महानगरपालिका प्रमुख रेनु दाहालले आयोजना समयमै सक्न महानगरले मात्रै नभएर जिल्लाका सबै स्थानीय तह लाग्नु आवश्यक रहेको बताउँदै सबै नेपालीलाई सहयोगका लागि आग्रह गर्नुभयो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रु तीन अर्बको लागतमा निर्माण गर्न लागिएको रङ्गशाला शिलान्यासको मितिले दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । यसका लागि जिल्लाले अपनत्व ग्रहण गर्दै अन्य जिल्लामा अभियान सञ्चालन गर्न उहाँले अनुरोध गर्नुभयो । अहिले गुरुयोजना निर्माणको काम, रङ्गशालाका लागि उपलब्ध जग्गाको सुरक्षा गर्ने, गोदामघर निर्माण गर्ने, काम गर्ने कर्मचारीलाई आवासलगायतको निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । गुरुयोजना निर्माणका लागि विषयविज्ञसँग छलफल भइरहेको उहाँको भनाइ थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !