२४ मंसिर २०८१, सोमबार

परराष्ट्रमन्त्री डा. राणा चीन प्रस्थान


डा. आरजु राणा देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएकी हुन् । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्किने छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !