२३ बैशाख २०८१, आइतबार

मिथिला र मधेशका बारेमा सकारात्मक नभएको गुनासो


Nepalpatra

२० फागुन, जनकपुरधाम । केन्द्रीकृत सञ्चारमाध्यमले मिथिला र मधेशका बारेमा अहिले पनि सकारात्मक हुन नसकेको धारणा यहाँ आयोजित एक कार्यक्रममा सहभागी सञ्चारकर्मीले व्यक्त गर्नुभएको छ ।

मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित केन्द्रीकृत पत्रकारिता र मिथिला विषयक बिमर्शमा सञ्चारकर्मीले केन्द्रीकृत सञ्चारमाध्यमले सोचमा परिवर्तन गरी यस क्षेत्रका अपेक्षाको पूर्ति गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले मिथिलाका सभ्यता, भाषा, संस्कृति, कला र साहित्यमूलक सामग्रीलाई प्राथमिकतामा नराख्ने, सम्प्रेषित सामग्रीलाई सम्पादनका नाममा आपत्तिजनक बनाइ दिने गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रदेशमा कार्यालय स्थापना गर्ने तर सम्पादन डेस्कमा प्रदेशलाई बुझेका सम्पादक नराख्ने, समाचारदाताद्वारा सम्प्रेषण गरिएका समाचार सामग्रीमा डेस्कका सम्पादकले आफ्नो दृष्टिकोण राखी दिने गरेका कारण समाचारदाता असुरक्षित हुनुपरेको समस्या सञ्चारकर्मीले राख्नुभएको थियो ।

अन्नपोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले विगतको सोच, दायराको पर्दा विस्तारै–विस्तारै उघार्दै जानु मिथिला, मधेशको मुद्धामा सकारात्मक हुँदै गएका बताउनुभयो । मिथिलाका बारेमा लेखन गर्नेको खोजमा आफू लागेको बताउँदै उहाँले केन्द्रीकृत मिडिया फरक ढङ्गले प्रस्तुत हुने अभ्यास गरिरहेका उल्लेख गर्नुभयो ।

नेपाल पत्रिकाका प्रधान सम्पादक वसन्त बस्नेतले मिथिला, मधेशका भगवान्लाई स्वीकार्ने तर पत्रकारितालाई न स्वीकार्ने विडम्बना भएको विचार राख्नुभयो । उहाँले पत्रकारिता केन्द्रीकृत भएर मिथिला, मधेशसँग असमान विकास र व्यवहार गरिएको कुरा सत्य नै भएका कारण काठमाडौँसँग अपेक्षा हुनु स्वाभाविकै रहेको बताउनुभयो ।

जनकपुर टुडेका प्रधान सम्पादक वृजकुमार यादवले मिथिला, मधेशका मुद्दाप्रति दृष्टिकोणमा परिवर्तनको आवश्यकतामा जोड दिनुभयो । मिथिला, मधेशका मुद्दालाई अस्वीकार गर्ने, नपचाउने मनोविज्ञानमा परिवर्तनको खाँचौ अपरिहार्य भई सकेको उहाँले धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रले केन्द्रीकृत मनोविज्ञानमा परिवर्तनका लागि मिथिला, मधेशका सञ्चारकर्मी अग्रसर हुनु जरूरी भएको बताउनुभयो । पत्रकार अनिल कर्णले मिथिला, मधेशलाई उपेक्षा गर्ने प्रवृत्ति अहिले पनि हाबी रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !