५ जेष्ठ २०८१, शनिबार

बाबुकुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइँदै


Nepalpatra

१५ फागुन, राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ मा पर्ने बाबुकुवा सिमसार क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाइने भएको छ । नेपालगञ्जको राँझा विमानस्थलदेखि करीब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले पर्यटकीय केन्द्रको लागि आवश्यक संरचना धमाधम निर्माण भइरहेका छन् ।

जिल्लाकै आकर्षक पर्यटकीय केन्द्र बनाउन यहाँ बाबुकुवा सामुदायिक वन उपभोक्ता समूहसँगको सहमतिमा करीब १० हेक्टर जमीनमा लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकको अगुवाइमा उद्यान निर्माण कार्य भइरहेको छ । रु तीन करोड ५० लाखको गुरुयोजना बनाएर काम शुरु भएको उद्यानमा हालसम्म झण्डै रु ६५ लाख लगानी भइसकेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

बाबुकुवा सिमसार क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रुपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाई स्थानीयवासीको आर्थिक जीवनस्तर उकास्न मद्दत पु¥याउने उद्देश्यका साथ काम गरेको उहाँले बताउनुभयो ।

लायन्स क्लबको एनएलएफ फण्ड, केन्द्रीय कार्यक्रम, सांसद विकास कोष, डुडुवा गाउँपालिका–५ र क्लबका अध्यक्ष तथा सदस्यबाट अर्थ सङ्कलन गरी निर्माण कार्य हुँदै आएको अध्यक्ष थापाले बताउनुभयो ।

उद्यान परिसरमा शौचालय, एउटा गोलघर, विश्रामस्थल र एउटा सभा भवन निर्माण भइसकेको छ भने एउटा बाटिका निर्माणाधीन अवस्थामा रहेको छ । सिद्दिविनायक लायन्स स्तम्भ बन्ने प्रक्रियामा रहेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताउनुभयो ।

उद्यान क्षेत्रमा गुरुयोजना अनुसार एउटा दृश्य अवलोकन स्थल, सात वटा गोल घर, १४ थान आश्रम स्थल, चौकीदार भवन, मुख्य प्रवेशद्वार, तारजाली, पौडी पोखरी र उद्यान बोटको निर्माण तथा व्यवस्था गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

हालसम्म डब्लुडब्लुएफबाट रु दुई लाख, बाबुकुवा सामुदायिक वन उपभोक्ता समितिको पहलमा रु ४० लाख, माछापालन कृषक समूहबाट १० लाख, सांसद विकास कोषबाट रु १० लाख, लायन्स क्लब केन्द्रीय कार्यक्रमबाट एक लाख, एनएलएफ कोषबाट रु ५० हजार र क्लबका अध्यक्ष र सदस्यबाट रु छ लाख ५० हजार लगानी भएको छ ।

डुडुवा गाउँपालिका–५ ले बाटिका निर्माणमा सहयोग गरेको छ । करीब एक कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा निर्माणाधीन बाटिकाको ४५ प्रतिशत कार्य पूरा भएको बाटिका निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नं वडामा रहेको राँझा विमानस्थलसँग जोडिएकाले पनि यो उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने डुडुवा गाउँपालिका–५ का अध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो । आगामी आर्थिक वर्षमा थप आवश्यक बजेट विनियोजनको लागि आफू सकारात्मक रहेको उहाँको भनाइ छ ।

गुरुयोजनाबमोजिम निर्माण सम्पन्न भइसकेपछि विभिन्न शीर्षकबाट हुन आउने आम्दानीबाट उद्यानको मर्मत सम्भार गर्ने र बचेको रकम समुदायका कमजोर आर्थिकस्तर भएका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्ने समेत योजना रहेको उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !