२३ बैशाख २०८१, आइतबार

सांसदको तलब विभिन्न सङ्घसंस्थालाई हस्तान्तरण


money-return

१५ माघ, दमौली । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रकम जिल्लाका दुई सङ्घ संस्थालाई हस्तान्तरण गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएपछि आफूले प्राप्त गर्ने तलब जिल्लाका विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउने प्रतिबद्धताबमोजिम श्रेष्ठले दुई महीनाको तलबवापतको रु ५०/५० हजार भानु नगरपालिका–१३ ठूल्ढुङ्गास्थित सिद्धबाबा युवा क्लब र तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद् तनहुँलाई प्रदान गर्नुभएको हो ।

ती दुई संस्थालाई एक/एक महीनाको तलब उपलब्ध गराउने सांसद श्रेष्ठले यसअघि नै प्रतिबद्धता जनाउनुभएको थियो । उक्त दुवै संस्थाको रकम सांसद श्रेष्ठले क्लबका सल्लाहाकार एवं तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रगबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको छ ।

गत वर्षको फागुन पहिलो साता सांसदको रुपमा शपथ ग्रहण गर्नुभएका श्रेष्ठले आफूले पाएको तलब हालसम्म सिद्धबाबा युवा क्लब र तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद्सहित व्यास नगरपालिका–११ स्थित चिसापानी खानेपानी उपभोक्ता समिति, भानु नगरपालिका–१० स्थित दुधेकुना सत्यनारायण मन्दिर, भानु नगरपालिका–८ स्थित देउरालीटार युवा क्लब, बन्दीपुर गाउँपालिका–६ ग्याँजाटारस्थित शिवमन्दिर, भानु नगरपालिका–६ नावरुङस्थित कालिका मन्दिर, व्यास नगरपालिका–१० स्थित सुधेरी खानेपानी उपभोक्ता समिति, व्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र नेपाल पत्रकार महासङ्घ तनहँु शाखामा रु एक लाख अक्षयकोषका लागि रकम उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव जगत खड्काले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा कोष निर्माण गर्न माग

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर युनियन ९क्युपेक नेपाल० तनहँुले निर्माण मजदूरको नाममा सामाजिक सुरक्षा कोष निर्माण गर्न माग गरेको छ । युनियनले जिल्लास्थित चार नगरपालिका र छ गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नगर तथा गाउँपालिका क्षेत्रभित्र कार्यरत मजदूरको नाममा सामाजिक सुरक्षा कोष निर्माण गर्न माग गरेको हो ।

युनियनले सम्पूर्ण निर्माण व्यवसायीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरी उनीहरुसँग काम गर्ने मजदूरको सामाजिक सुरक्षाकोष निर्माण गर्न माग गरेको युनियनका जिल्ला अध्यक्ष भीम गुरुङले बताउनुभयो ।

सम्पूर्ण निर्माण तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार श्रमिकहरुलाई पनि यथाशाक्य चाँडै सामाजिक सुरक्षाकोषमा सूचीकृत गराउने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

युनियनले व्यास नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र रिसिङ गाउँपालिकाका प्रमुखहरुलाई सामाजिक सुरक्षा कोष निर्माण गर्न माग गरेको छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले श्रमिकको हक, हित र सुरक्षाका निम्ति आफूहरु सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

किरियापुत्री भवनलाई वाणिज्य बैंकको सहयोग

राष्ट्रिय वाणिज्य बैंक दमौली शाखाले व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग गरेको छ । बैंकको ५४ औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत सो भवनलाई रु दश हजार ११० सहयोग गरिएको बैंकका निमित्त प्रबन्धक तुलसीमणि अधिकारीले जानकारी दिनुभयो ।

भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले भवन निर्माणका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि देश तथा विदेशका विभिन्न ठाउँबाट सङ्घसंस्थाले सहयोग गरेका छन् ।

व्यास नगरपालिका–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ व्यास नगरपालिका र स्थानीयवासीको सहयोगमा आठ कोठे किरियापुत्री भवन निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “शहरीया साँघुरो र घना बसाई व्यवस्थायुक्त हाम्रो रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महसुस गरी भवन निर्माण शुरु गरेका हौँ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !