५ जेष्ठ २०८१, शनिबार

भारु नोट साट्न भारत


दिल्ली

१४ माघ, डोटी । पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् । “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाहीले भन्नुभयो ।

गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन् । लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन् । पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भन्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।”

१६५ जना भारतमा बेपत्ता

कामका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका १६५ जना बेपत्ता भएका छन् । गैरसरकारी संस्था निड्स नेपालले कञ्चनपुर, अछाम र डोटीमा गरेको अनुसन्धानबाट मजदूरी गर्न भारत गएका उनीहरु बेपत्ता छन् ।

सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजनाअन्तर्गत तीन जिल्लामा तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले जानकारी दिनुभयो । हराएकाको खोजी गर्न स्थानीय प्रशासन कार्यालयमा उजुरी नपर्दा समेत यकिन तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको उहाँको भनाइ थियो । मडैले भन्नुभयो, “ अन्य जिल्लाको तथ्याङ्क सङ्कलन गरे बेपत्ताको सङ्ख्या बढ्नसक्छ ।”

असिनाबाट तरकारीमा क्षति

हिमपातसँगै असिना परेपछि तरकारीबाली नोक्सान भएको छ । हावाहुरीसहित परेको असिनाले दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआइसिंहलगायत गाउँपालिकामा गरिएको तरकारीलगायतका अन्यबालीमा नोक्सानी पु¥याएको जोरायलका बासिन्दा रमेश मगरले बताउनुभयो ।

आइतबार राति करीब डेढ घण्टासम्म हावाहुरीसहित असिना परेपछि बडिकेदार, बोगटान, जोरायल, केआइसिंहलगायत गाउँपालिकामा तरकारीखेती नष्ट भएको जोरायलका रमेश मगरले बताउनुभयो । असिनाले डोटीको शिखर नगरपालिका, बडिकेदार, बोगटान तथा सायल क्षेत्रमा लगाइएको बालीमा क्षति पु¥याएको छ ।
(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !