१४ बैशाख २०८१, शुक्रबार

दाङमा गोली हानी दुई जनाको हत्या


gun firing

दाङको गढुवामा आइतबार राति गोनी हानी दुई जनाको हत्या भएको छ। गढुवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए।

एसपी सिंहका अनुसार गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने अर्का घाइते राजु रोकाको उपचारका क्रममा सोमबार बिहानै मृत्यु भएको हो।

राति खबरी नाकामा तीजको मेला लागेको थियो। मेलामा पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसीईबीका कारण गोली हानेको एसपी सिंहले बताए। एसपी सिंहले भने, ‘पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो, उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जब रोकाद्वय मोटरसाइकमा चढेलगत्तै गोली हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोली लागेको पाइएको छ।’

एसपी सिंहले पुन र रोकाद्वयका बीचमा पहिलेदेखि नै मनमुटाव रहेको उनले योजनावद्ध तरिकाले गोली हानेको बताए। साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाइकलमा चढ्नेवित्तिकै गोली हानेको खुल्न आएको प्रहरीले बताएको छ।

मृतक दुबै जनाको शव अहिले स्वास्थ्य चौकी लमहीमा पोष्टमार्टमका लागि राखिएको छ। गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ। पुन भागेर कतै जान नपाउन् भनेर सबै नाका सिल गरिएको पनि एसपी सिंहले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !