२३ बैशाख २०८१, आइतबार

म्याडागास्करको चुनाव, राष्ट्रपतिका दुबै उम्मेदवारले गरे जितको दाबी


Nepalpatra

५ पुस, अन्तानानारिभो, म्याडागास्कर । म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आआफू विजयी भएको दाबी गर्नुभएको छ । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।

दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ ।

“भोलि अवश्य परिवर्तन आउनेछ, र पापाले जित्नेमा तपाइँहरु ढुक्क हुनुहोस्,” पापा भनेर चिनिने राभालोमानानाले आफ्ना समर्थकलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै भन्नुभयो । “मतगणना जहाँ पुगोस्, एउटा मात्र नतिजा आउँछ, हामी जित्छौं ।”

तर, उहाँका विपक्षी राजोलिनाले भन्नुभयो, “मैले चुनाव जित्नेमा म विश्वस्त छु ।”

गत नोभेम्बरमा भएको पहिलो चरणको चुनावमा दुबै उम्मेदरबीच कडा प्रतिस्पर्धा भएको थियो । यी दुबै उम्मेदवारलाई मुलुकमा सङ्कट निम्त्याएको भन्दै सन् २०१३ मा उम्मेदवार बन्न दिइएको थिएन । म्याडागास्कर सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको हो ।

पहिलो चरणको निर्वाचनमा राजोलिनाले ३९ प्रतिशत र राभालोमानानाले ३५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । दुबैले चुनावमा धाँधली भएको एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।

दोस्रो चरणको चुनाव बुधबार सम्पन्न भएको थियो । चुनावी मतगणना ढिलो भइरहेकाले अर्को सातामात्र औपचारिक नतिजा सार्वजनिक हुनेछ ।

राभालोमानाना सन् २००२ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो तर राजोलिनाको समर्थनमा भएका हिंसात्मक प्रदर्शनबाट सात वर्षपछि राभालोमानानालाई राजीनामा गर्न बाध्य पारिएको थियो ।

राजोलिनालाई सैनिकको सहयोगमा राष्ट्रपतिमा ल्याइयो र उहाँले सन् २०१४ सम्म मुलुकको शासन सत्ता चलाउनुभयो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !