४ जेष्ठ २०८१, शुक्रबार

मुआब्जा माग


Nepalpatra

२५ मङ्सिर, विदुर । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध ¥याली निकालेका छन् ।

आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका हुन् । पिपलटारदेखि ढुङ्गेसम्म सडकमा परेका जग्गाको मुआब्जा निर्धारण हुनसकेको छैन । गत कात्तिक १३ गते पिपलटारवासीले योजनाको निर्माण व्यवसायीले सो क्षेत्रमा गरेको कालोपत्रेको काममा अवरोध गरेर पीडितलाई मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेका थिए । सो अवरोधपछि प्रशासनले प्रहरी परिचालन गरी कालोपत्रे गरायो भने पिपलटारदेखि बट्टार, विदुर र ढुङ्गेसम्मका प्रभावितले भेला गरी सङ्घर्ष समिति गठन गरेको संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो ।

देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको स्थानीयवासीको बुझाइ छ । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेर अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने कोही नदिने ”, समितिका संयोजक न्यौपानेले भन्नुभयो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे मुआब्जा दिने÷नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

¥यालीपछिको कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले राष्ट्रिय गौरवको आयोजना भन्दैमा मनोमानी हुन नहुने बताउनुभयो । सर्वोच्च अदालतले फैसला गरी आयोजना निर्माण हुने क्षेत्रका प्रभावित नागरिकलाई मुआब्जा दिन गरेको निर्देशन राज्यले पालना नगरेको बताउनुभयो । विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएको कारण मुआब्जा दिनेबारे योजनाले स्पष्ट जानकारी दिन नसकेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आएका छन् ।

“गङ्गटेदेखि ढुङ्गेसम्म चार लेनको सडक निर्माण हुने भएकाले कतिपयको उठीबाससमेत लाग्ने अवस्था छ । कतै मुआब्जा दिने, कतै नदिने अन्याय हुन्छ, मुआब्जा नदिए धेरै नागरिक घर न घाटको हुने अवस्था छ”, सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठ भन्नुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !