२१ बैशाख २०८१, शुक्रबार

व्यापार गर्ने वातावरण बनाउन आग्रह


Nepalpatra

४ मङ्सिर, काठमाण्डौ । युवा उद्यमीले व्यापार गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

उद्योग दर्ता प्रक्रियादेखि विभिन्न चरणमा झन्झट ब्यहोर्नु परिरहेको भन्दै उनीहरुले सरकारी कामकाजमा विद्युतीय प्रणालीको विकास जरुरी रहेको औँल्याए । समृद्धि फाउण्डेशनको आयोजनामा आज राजधानीमा आयोजित उद्यमशीलता विकासमा नीतिगत चुनौती विषयक अन्तक्र्रियामा युवा उद्यमी विशाल ढकालले कतिपय अवस्थामा नीतिभन्दा उद्यमी अगाडि गएको भन्दै परिवर्तित समाजअनुसार समयसापेक्ष नीतिको जरुरी रहेको औँल्याउनुभयो ।

अर्का युवा उद्यमी सुमन शाक्यले राजनीतिक र कर्मचारी प्रशासनभित्र पनि युवाको सहभागिता जरुरी रहेको औँल्याउँदै अरुलाई दोष दिनुभन्दा अगाडि आफैँबाट सुधारको शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा प्रयोग भइरहेको प्रविधि र प्रक्रियालाई अवलम्बन गर्दै प्रविधिमैत्री नीति ल्याउन सके पनि समृद्ध नेपाल निर्माणमा ठूलो योगदान हुने समृद्धि फाउण्डेशनका निर्देशक दीपेन्द्र चौलागाईंको भनाइ थियो । उहाँले यसतर्फ सरकार र नीति निर्माणकर्ताले ध्यान दिएर युवाशक्तिलाई नेपालमै परिचालन गर्नु जरुरी रहेको बताउनुभयो ।

फाउण्डेसनले सन् २००९ बाट सार्वजनिक नीति र सरोकारका विषयका साथै उद्यमशीलताको विकासका लागि काम गर्दै आएको छ । उद्यमशीलता गर्दै आएका संस्थालाई सहभागी गराएर उनीहरुलाई राज्यका अङ्गमा पहँुच बढाई व्यवसायमा सहभागिता गराउन प्रोत्साहन गर्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

नेपालको पहिलो टेम्पो चालक तथा काष्ठकला उद्योगकी सञ्चालिका लक्ष्मी श्रेष्ठले धन कमाउन लाहुर जानुनपर्ने र देश बनाउन राजनीति गर्नु नपर्ने बताउँदै व्यापार गर्दा देशको फाइदाभन्दा नाफा खोज्ने सोचले समस्या आएको बताउनुभयो । उहाँले सरकारले उद्योगमैत्री वातावरण अझै बनाउन नसकेको र बनेका नियम कानूनसमेत कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।

उद्योग मन्त्रालयका अधिकृत ओमप्रकाश महतोले सरकारी गतिभन्दा युवा पुस्ताको माग माथि भएकाले समस्या आएको बताउनुभयो । उहाँले अहिले सरकारले कतिपय नीति नियम संशोधनको चरणमा रहेको भन्दै यसले युवाको धेरै समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा उद्योग खोल्न चाहने युवाले आइपरेका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !