२१ बैशाख २०८१, शुक्रबार

हुथी विद्रोहीद्वारा आक्रमण रोक्ने एकतर्फी घोषणा


Nepalpatra

३ मङ्सिर, साना । यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहका एकजना उच्च नेताले यमनमा क्षेप्यास्त्र आक्रमण र ड्रोनबाट हुने आक्रमण स्थगित गर्ने घोषणा गरेका छन् । शान्ति प्रक्रियाको तयारीका सन्दर्भमा राष्ट्रसंघका एकजना कूटनीतिज्ञले यमनको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा हुथी विद्रोहीले पछिल्लो कदम चालेको हो ।

सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अलि अल–हुथीले ट्वीट गरी सबै आधिकारिक यमेनी राजनीतिक दलहरुलाई युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।

“हामी यमनका सबै आधिकारिक दलहरुलाई अतिक्रमणकारी देशविरुद्ध र उनीहरुका यमनी समर्थकमाथि रकेट आक्रमण र ड्रोनको प्रयोग रोक्न आग्रह गर्दछौं ताकि उनीहरुले हामीमाथि आक्रमणको कुनै आधार पाउने छैनन् । शान्ति स्थापनाको तत्परता प्रस्तुत गर्न सबै मोर्चामा सैनिक आक्रमण रोक्न पनि आग्रह गर्दछौं,” उहाँले लेख्नुभएको छ ।

राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले शुक्रबार मात्र अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी नेताको युद्धविराम गर्ने घोषणा सार्वजनिक भएको हो । मार्टिन ग्रिफिथ स्वीडेनमा चाँडै हुनेगरी तय भएको शान्ति वार्ताको सन्दर्भमा वातावरण तयार गर्न यमन जान लाग्नुभएको हो ।

सेप्टेम्बरमा पनि स्वीडेनमा शान्ति वार्ता गर्ने तय भएपनि अन्तिममा विद्रोही हुथी समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो । ग्रिफिथले भन्नुभयो – हुथी विद्रोही र साउदी–समर्थित यमन सरकार दुवैले राजनीतिक समाधानप्रति प्रतिबद्धता दोहो¥याएकाले वार्ता हुन लागेको हो । दुवै पक्षले वार्तामा उपस्थित हुने बताएका छन् । तैपनि वार्ताको मिति भने तय गरिएको छैन ।

अलि अल–हुथीले राष्ट्रसंघका विशेषदूतसँगको सम्पर्क पश्चात क्षेप्यास्त्र र ड्रोन आक्रमणका साथै अन्य आक्रमणका सम्पूर्ण क्रियाकलाप रोकिएको बताउनुभयो ।

रक्तपातयुक्त यमन गृहयुद्धका कारण त्यहाँ हजारौं मानिसको मृत्यु भइसकेको छ । गत साता पनि लाल सागरको तटीय सहर होडेडामा भिषण लडाइँ भएको थियो । यही सहर हुँदै सम्पूर्ण आर्थिक तथा मानवीय सहायताका सामग्री यमन भित्रिने गर्दछन् ।

विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रण गरेका थिए । अर्को वर्ष सरकारका पक्षबाट साउदी अरेबिया र यसका गठबन्धन मुलुकले सानामा हुथी विरुद्ध भिषण हमला गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार, त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । राष्ट्रसंघले यमनको द्वन्द्वलाई अत्यन्त निकृष्ट रहेको जनाएको छ ।

अधिकारकर्मीहरुको भनाइमा गृहयुद्धबाट मारिने व्यक्तिको संख्या पाँच गुणा बढी रहेको छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !