१० मंसिर २०८१, सोमबार

जग्गा अभावले विद्यालयको पुनःनिर्माण अन्योलमा


Nepalpatra

३ मङ्सिर, बेत्रावती । विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा जग्गा नहँुदा पुनःनिर्माणको लागि दाता र सरकारी निकायले भवन बनाउन बजेट छुट्टाएपनि जग्गा अभावले रोकिएको छ । क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य हुँदै आएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख वीरेन्द्रजङ्ग थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणमा स्वदेशी तथा विदेशी संस्था र सरकारी निकायको संयुक्त प्रयास जारी रहेपनि जग्गा नभएका विद्यालयमा भवन बनाउन लगानीको लागि कानूनी जटिलताले बजेट तर्जुमा गर्न सकिएको छैन ।

“कार्यविधिअनुसार विद्यालयको भवन निर्माणको लागि लगानी गर्न आफ्नै नाममा जग्गा भएको हुनुपर्ने प्रावधान रहेको छ ।” थापाले भन्नुभयो, “टहरामा कक्षा सञ्चालन हुँदै आएको देखेर पनि सरकारी लगानी र भवन बनाउने भनी कार्यक्रम लिएर आएका दातालाई रोक्न बाध्य छौँ ।”

विद्यालय स्थापनाको समयमा सार्वजनिक जग्गामा संरचना बनाएर चलाउँदै आएपनि भूकम्पपश्चात् सरकारी निकायले रकम निकासा तथा संस्थालाई निर्माणको जिम्मा दिन विद्यालयको आफ्नै नाममा जग्गा भएको हुनुपर्ने बाध्यकारी भएपछि विद्यालयको पुनःनिर्माण अन्योल भएको हो ।

आफ्नो नाममा जग्गा नभएका विद्यालयलाई जग्गा प्राप्ति गर्न पत्राचार गरे पनि कुनैबाट पनि आशालाग्दो पहल नभएको एकाइका इञ्जिनीयर सुमन पोखरेलले जानकारी दिनुभयो । जग्गा प्राप्तिको लागि विद्यालयको आन्तरिक स्रोतमार्फत खरीद र दाताबाट प्राप्त गर्न सकिने भए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

जग्गा अभावमा भूकम्पले क्षति पुगेका भवनको पुनःनिर्माण गर्न नसक्नेमा गुफादेवी आधारभूत बागेश्वरी, पञ्चकन्या आधारभूत मदानपुर, रामजानकी आधारभूत मदानपुर, भैरवकुण्ड आधारभूत रातमाटे, जानकी आधारभूत घ्याङ्फेदी, मागेन आधारभूत घ्याङ्फेदी, नारायण आधारभूत गाउँखर्क, कल्लेरी आधारभूत राउतबेँसी, कृष्ण आधारभूत शिखरबँेसी रहेका छन् ।

जग्गा अभावमा पुनःनिर्माण नभएको अन्य विद्यालयमा बज्रदेवी आधारभूत सामरी, कालिका आधारभूत कल्याणपुर, महालक्ष्मी आधारभूत विदुर, बाघभैरव आधारभूत विदुर, महालक्ष्मी आधारभूत खानीगाउँ, दुर्गमतारा आधारभूत भाल्चे, नमूना आधारभूत सिक्रे, स्याउरेभूमे आधारभूत सिक्रे, अष्टदेवी आधारभूत महाकाली, भूमेदेवी आधारभूत महाकाली, ग्राहीथुम आधारभूत महाकाली, जानकी आधारभूत महाकाली नेपाने आधारभूत महाकाली रहेका छन् ।

यस्तै, कालिकादेवी मावि समुन्द्रादेवी, महालक्ष्मी आधारभूत ओखरपौवा, मानेघ्याङ आधारभूत चाउथे, नवसिर्जनशील आधारभूत चाउथे, कल्पेश्वरी आधारभूत उर्लेनी र शङ्खनाथ आधारभूत खरानीटार रहेका छन् ।

जग्गा अभावले पुनःनिर्माण हुन सकेकोमध्ये कालिकादेवी मावि दाताको सहयोगमा सञ्चालनमा रहेको संस्थागत विद्यालयको पक्की भवनमार्फत सञ्चालनमा रहेको छ भने बाँकी टहरामै चलिरहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ ।

जग्गा अभावबाट नै जिल्लामा प्राविधिक शिक्षा अध्ययन गरी उत्कृष्ट शिक्षा प्रवाह गर्दै आएको थानापतीको जनज्ञान निकेतन माविको भवन पनि मर्मतमा कठिनाइ भएको छ । “विद्यालयको हालको पक्की संरचनामा आंशिक क्षति पुगेको छ ।” पोखरेलले भन्नुभयो, “विद्यार्थी अन्यत्र स्थानान्तरण गर्न जग्गा अभावले क्षतिग्रस्त भवनमा अध्ययनरत विद्याथीलाई सुरक्षित बनाउन सकिएको छैन ।”

भारतीय दूतावासले काम गरेन

भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण तथा मर्मतको लागि भारत सरकारले जिम्मा लिएको दश विद्यालयको काम अझै शुरु गरेको छैन । भारत सरकारको सहयोगमा भूकम्पअघि निर्माण गरेका पाँच विद्यालयको मर्मत र नयाँ पाँच विद्यालयको सबै संरचना बनाउने जिम्मेवारी लिए पनि काम शुरु नगरेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

एकाइका सूचना अधिकारी पोखरेलका अनुसार ऐसेलुभूमे मावि काहुले, पञ्चलिङ्गे मावि काहुले, पिमल्टार मावि तारुका, कालिका मावि चाउथे र सरस्वती मावि गाउँखर्कको निर्माण गर्न दूतावासले बोलपत्र आह्वान गरी निर्माण व्यवसायी चयन गरेपनि कार्य अनुमति स्वीकृत नदिँदा पुनःनिर्माण अन्योल भएको हो ।

ती विद्यालयको पुनःनिर्माणको लागि एक विद्यालयमा रु पाँच करोडको हाराहारीमा काम गर्न दूतावासले निर्माण व्यवसायी छनोट गरेको थियो । भवन अभावले ती विद्यालयका विद्यार्थी टहरामा अध्ययन गर्दै आएका छन् ।

भारतीय सहयोगमा भूकम्पअघि निर्माण गरेका पाँच विद्यालयको मर्मतको काम पनि दूतावासले शुरु गरेको छैन । आंशिक क्षति पुगेका जिल्लाको गणेश मावि हल्दे, शङ्खरादेवी मावि गोस्र्याङ, नारायणीदेवी मावि खानीगाउँ, कामरुदेवी मावि दुईपीपल र पञ्चकन्या भूमे आधारभूत विद्यालय सुइरेचउर छन् । ती विद्यालयको मर्मतको जिम्मेवारी लिएको दूतावासले काम शुरु नगर्दा विद्यार्थी जोखिम भवनमा अध्ययन गर्न बाध्य छन् ।

पुनःनिर्माण सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने

भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणको लागि यहाँ अझै तीन वर्ष लाग्ने भएको छ । नेपाल सरकारले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गर्न राष्ट्रय पुनःनिर्माण प्राधिकरण गठन गरेपश्चात् तीन वर्षभित्र सम्पन्न गर्ने बताए पनि लक्ष्यअनुसार कार्य नहुँदा थप समय लाग्ने देखिएको एकाइका इञ्जिनीयर तथा सूचना अधिकारी सुमन पोखरेलले बताउनुभयो । उहाँको अनुसार हालसम्म जिल्लाको ४४८ विद्यालयमध्ये करीब १०० को पुनःनिर्माण सकिएको छ ।

कार्य जारी रहेकोमध्ये हाल जिल्लाको १९५ विद्यालयका ८५६ कक्षाकोठा बनेका छन् भने २७३ विद्यालयको तीन हजार ६३१ कक्षाकोठा निर्माण भइरहेको छ । आंशिक क्षति पुगेका ४४ विद्यालयका ३१९ कक्षा कोठाको मर्मत जारी रहेको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विद्यालयको लागि आवश्यकै सबै संरचनासहितको नयाँ भवन निर्माणको जिम्मा लिएको ६३ विद्यालयमध्ये बल्ल दुईवटा सम्पन्न भएको छ ।

पुनःनिर्माण हुन बाँकी विद्यालयमध्ये अधिकांश सडकको पहुँच बाहिर भएकाले निर्माण सामग्री पु¥याउन कठिन हुँदा पुनःनिर्माणको लागि अहिलेको गतिमा सम्पन्न हुन आर्थिक वर्ष २०७७/०७८ लाग्ने एकाइका पोखरेलले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !