२४ बैशाख २०८१, सोमबार

पचली भैरव मन्दिर जीर्ण बन्दै


Nepalpatra

२६ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा त्यस आसपास क्षेत्रमा जोखिम बढेको छ । लामो समयदेखि सामान्य मर्मत तथा जीर्णोद्धार हुन नसकेकाले मन्दिरको अस्तित्व अहिले ओझेलमा परेको हो । करीब दुई वर्ष अगाडि मन्दिरको मूर्ति चर्किएको र पुरानो भएर बिग्रिएपछि ललितपुरको प्रयाग पोखरीबाट नयाँ मूर्ति निर्माण गरी प्रतिस्थापन गरिएको थियो । उक्त मूर्ति निर्माण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । मुलुकमा राजसंस्थाको अस्तित्व कायम रहेको समयमा राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो ।

मन्दिरमा रहेको घ्याम्पो आकारको पचली भैरवको मूर्ति दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभकार्य तथा बल प्रयोग गरिने कार्यलाई पूरा गर्न विशेष पूजा गर्ने प्रचलन छ ।विशेषगरी दशैँको समयमा मूर्तिलाई खटमा सजाएर जात्रा निकाल्ने गरिन्छ । मन्दिरबाट नजिकैको दूरीमा मचली भैरवको मन्दिर छ । पचलीको उत्तराधिकारीका रुपमा मचली भैरवलाई लिइएको छ ।

कामपा–१२ का वडाध्यक्ष विकास डङ्गोलले स्थानीय क्षेत्रका प्राचीन र महत्वपूर्ण सम्पदाको संरक्षण गर्ने परम्परादेखि चलिआएका जात्रापर्वलाई निरन्तरता दिन आवश्यक खर्चको व्यवस्थापन गरिने बताउँदै उक्त मन्दिर चालु आवभित्र जीर्णोद्धार शुरु गरिने जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !