२० बैशाख २०८१, बिहिबार

मूर्तिको मौलिकपनामा रमाउँदै


Nepalpatra

१४ कात्तिक, काठमाडौँ । भनिन्छ, जुनसुकै कला, संस्कार र व्यवहार एक पुस्ताबाट अर्काे पुस्तामा पुस्तान्तरण हुन्छ । नेपालका प्रख्यात चित्रकार कुलमानसिंह भण्डारीका सुपुत्र मूर्तिकार रामकृष्ण भण्डारी आफूमा कलाको रस आउनुमा बुवाकै योगदान मान्नुहुन्छ ।

चित्रकार कुलमानसिंहको विसं २०५७ मा निधन भएपछि उहाँका सुपुत्र रामकृष्णले मूर्तिकलालाई निरन्तरता दिँदै आउनुभएको छ । आफ्नो जीवनकालमा चित्रकलामार्फत देश र समाजलाई योगदान दिनुपर्छ भन्ने मान्यताका चित्रकार कुलमानसिंह माक्र्सवादी विचारधारामा विश्वास राख्नुहुन्थ्यो । मूर्तिकार रामकृष्ण पनि आफ्नो मूर्तिकलामा माक्र्सवादलाई नै घुसाउँदै आएको बताउनुहुन्छ ।

रामकृष्ण भन्नुुहुन्छ, “बुवाले बनाउनुभएजस्तो माक्र्सवादी विचारधाराको चित्र कतै पनि मैले देखेको छैन ।” देश र समाजको भलाइका लागि आफ्नो मूर्तिले काम गर्नुपर्ने विश्वास उहाँ राख्नुुहुन्छ । आफ्नै कल्पना र विचारका माध्यमबाट मूर्ति बनाउनुपर्ने विचार राख्ने उहाँ अरुले बनाएजस्तो बनाउँदा मौलिकपना हराउने बताउनुहुन्छ । उहाँका अनुसार जनताले बनाएका सामग्री प्रयोग गरेजस्तै जनताका लागि नै आफ्ना रचना केन्द्रित हुनुपर्छ ।

पुष्पलाल, गणेशमान सिंह, मदन भण्डारी, शङ्खधर साख्वालगायत चर्चित व्यक्तिका शालिक बनाइसक्नुभएका उहाँले आफूले बनाएका हरेक मूर्तिमा क्रान्तिकारी विचार घुसाउनुभएको छ । ‘लोकतन्त्र’, ‘तीनदल र कुर्सी’, ‘मातृभूमि’ आदि उहाँका केही मूर्तिका शीर्षक हुन् । अन्य मूर्तिकार मूर्ति बेच्न बजारमा धाइरहेका बेला आफूलाई भने मूर्ति बिक्री गर्न कुनै कठिनाइ नभएको उहाँ बताउनुहुन्छ । उहाँले विदेशी तथा स्वदेशी ग्राहकलाई आफ्नो निवास कीर्तिपुरबाटै मूर्ति बिक्री गर्दै आउनुभएको छ । “ग्राहकहरु आफूलाई चाहिने मूर्ति घरमै आएर अर्डर गर्छन्, सोहीबमोजिम मूर्ति बनाएर बिक्री गर्ने गरेको छु”, भण्डारीले भन्नुभयो । मूर्ति बनाएर नै जीविका धान्दै आउनुभएका भण्डारीले फूर्सदका समयमा समेत देवताका ससाना बनाउँदै आउनुभएको छ ।

हालसम्म छ पटक मूर्तिकला प्रदर्शनीसमेत गरिसक्नुभएका भण्डारी मूर्ति बनाउनकै लागि समय समयमा देशका कुनाकाप्चामा पुग्नुहुन्छ । हालसम्म नेपाल र भारतका विभिन्न ठाउँमा मूर्ति बनाइसक्नुभएका भण्डारी आफूले मूर्ति बिक्री गरेर पर्याप्त सम्पत्ति कमाउन नसके पनि यसैमा आफू रमाउने गरेको बताउनुहुन्छ । हालसम्म दुई हजारभन्दा बढी सानाठूला मूर्ति बनाइसक्नुभएका भण्डारीले केही सरकारी संस्थाको आग्रहमा शालिक पनि बनाउनुभएको छ । हाँले मूर्ति बनाउनका लागि आवश्यक ढुङ्गा काठमाडौँबाट नै सङ्कलन गर्दै आउनुभएको छ । सामान्यतया उहाँले मूर्तिको मूल्य रु एक लाखदेखि लिँदै आउनुभएको छ । ‘अर्डर’ फिर्ता गर्ने समस्या भने हालसम्म पनि उहाँले बेहोर्नुपरेको छैन ।

उहाँका दुई छोरी र एक छोराले भने धुलोमा खेल्नुपर्ने पेशा भएका कारण उहाँलाई आफ्नो पेशा नै छाड्न सुझाउँछन् तर उहाँ भने यही पेशामा नै रमाइसक्नुभएको छ । “मलाई यो पेशाबाट कहिल्यै निराश हुुनुपरेन”, भण्डारीले भन्नुुभयो । आफ्नो पेशामा रमाउन सके मात्र त्यसबाट दिगो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास राख्ने भण्डारीले हालसम्म थुप्रै राष्ट्रिय सम्मान पाइसक्नुभएको छ ।

सामान्य शिक्षा मात्र लिनुुभएका भण्डारी आफूमा कला आउन शैक्षिक योग्यता नै हुनुपर्छ भन्ने कुरामा खासै विश्वास राख्नुुहुन्न । उहाँले घरेलु तथा साना उद्योगमा दर्ता गरी ‘भण्डारी आर्टस् एण्ड स्ट्रक्चर ग्यालरी’का नामबाट संस्था दर्ता गरी सञ्चालन गर्दै आउनुभएको छ । आफ्नो कम्पनीमा एक्लै उहाँले मूर्ति बनाउँदै आउनुभएको छ । देश र जनताका लागि फूर्सदका समयमा गरेको कामबाट लाभ मिल्नुपर्ने आफ्ना बुवाको भनाइबाट प्रभावित भण्डारी आफूले बनाउने हरेक खालका मूर्तिमा नयाँपन घुसाउँदै आउनुभएको छ । उहाँले सबैभन्दा धेरै गणेशको मूर्ति बनाउनहुुन्छ ।

आफूसँग आधुनिक प्रविधि नभएका कारण थुप्रै कठिनाइ सामना गर्नुपरेको उहाँको भनाइ छ । विशेष गरी मूर्ति बनाउनका लागि आवश्यक ढुङ्गा सङ्कलनमा समस्या हुने गरेको उहाँ सुनाउनुुहुन्छ । “यही पेशाबाट पाएको इज्जत, मानसम्मानले नै यो पेशामा रहन मलाई साहस दिएको छ ”, उहाँ थप्नुुहुन्छ, “अन्य पेशामा जस्तो सफा लुगा लगाएर बस्न यो पेशामा मिल्दैन, त्यसकारण यो पेशा देख्दैमा दुःखदायी छ ।” उहाँलाई काम गर्न छोरी र श्रीमतीले सघाउँदै आएका छन् ।

मूर्तिकलामा मौलिकपना भएमा कसैको चोरी गर्न नसक्ने उहाँको ठम्याइ छ । उहाँले मूर्ति मात्र नभई चित्रसमेत बनाउँदै आउनुभएको छ । आफूले बनाएका चित्र बिक्रीसमेत गर्दै आएको उहाँले जानकारी दिनुभयो । आफूले बनाउने मूर्ति होस् या चित्र, त्यसमा आफ्नो लगावका साथै नयाँपन पनि हुुनुपर्ने सन्देश उहाँको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !