१६ जेष्ठ २०८१, बुधबार

हुलाकमा विदेशीको आकर्षण बढ्दै


hulak

९ कात्तिक, काभे्रपलाञ्चोक । काभ्रेपलाञ्चोकको जिल्ला हुलाक कार्यालय धुलिखेलबाट विदेशी नागरिकले समेत सेवा लिन थालेका छन् । नेपालको ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थल घुमेर यहाँको पर्यटकीय स्थल धुलिखेल आउने विदेशी नागरिकले हुलाकमार्फत ती स्थल र सम्पदाको पोष्टकार्ड तथा तस्वीर आफ्नो देश पठाउने गरेका हुन् ।

जिल्ला हुलाक प्रमुख पदमबहादुर खत्रीले विशेषगरी युरोपका नागरिकले यहाँका पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाको पोष्टकार्ड तथा तस्वीर हुलाकमार्फत आफ्नो देश पठाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दैनिकरुपमा धुलिखेल घुम्न आउनेमध्ये १५ देखि २० जनासम्म विदेशी नागरिकले आफ्नो देशमा पोष्टकार्ड पठाउँछन् ।” उहाँका अनुसार सूचना प्रविधिका अन्य साधन हुँदाहुँदै विदेशी नागरिकले ‘हार्ड डकुमेण्ट’का लागि हुलाकको सहायता लिने गरेका हुन् ।

मुलुकमा स्थानीय निकायको निर्वाचन तथा सङ्घीय संरचनामा गएपछि जिल्ला हुलाक कार्यालय धुलिखेलबाट चिट्ठीपत्र आदानप्रदानको चाप बढ्दै गएको छ । प्रदेशका मन्त्रालय एवं कार्यालय, जिल्लास्थित कार्यालय तथा स्थानीय तहका कार्यालयका पत्रको चाप बढ्दै गएको हो ।

कार्यालय प्रमुख खत्रीले स्थानीय तह एवं सङ्घीय संरचनाका कारण हुलाकमा चहलपहल बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशदेखि स्थानीय तहसम्मका चिट्ठीपत्र आदानप्रदानको काम बढेको छ, अहिले दैनिक १५० भन्दाबढी पत्र हुलाकबाट आदानप्रदान हुन्छ ।” उहाँका अनुसार केही कुरियर कम्पनीले पनि हुलाकको सहायता लिने गरेका छन् भने मासिक सरदर ५० वटासम्म पत्र विदेशमा आफन्तबाट आवतजावत हुने गरेको छ ।

बिहीबार मात्र जिल्ला वन कार्यालयले ९४ वटा पत्र अन्य जिल्ला कार्यालयलाई पठाएको हल्कारा मङ्गला भूर्तेलले बताउनुभयो । उहाँका अनुसार जिल्ला हुलाकबाट मात्रै दैनिक रु सातदेखि रु आठ हजारसम्म टिकट बिक्री हुने गरेको छ ।

कार्यालयका अनुसार काठमाडौँ विश्वविद्यालय, सरकारी एवं निजी बैंक, अस्पताल, सहकारी संस्था तथा गैरसरकारी संस्थाले आफ्ना औपचारिक पत्र हुलाकमार्फत पठाउने गरेका छन् । छ वटा नगरपालिका तथा सात वटा गाउँपालिका रहेको काभे्रपलाञ्चोकमा १३ वटा इलाका हुलाक कार्यालय छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !