२२ बैशाख २०८१, शनिबार

राष्ट्रपतिद्वारा वृक्षरोपण


bhandari

२७ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गर्नुभएको छ ।

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा बहुमूल्य बोधिचित्तको विरुवा रोप्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सङ्ग्रहालयको अवलोकनसमेत गर्नुभएको थियो । सङ्ग्रहालयका प्रमुख प्रा डा धर्मराज डङ्गोल, डा इशान गौतम र निर्मला प्रधानले संग्रहालयको वस्तुस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न निकायका प्रमुख÷प्रतिनिधिले वृक्षरोपण गर्नुभएको थियो ।

विसं २०३२ साउन २ गते स्थापना भएको उक्त सङ्ग्रहालयमा दुई टाउके सर्प, एक टाउको र दुई जीउ भएको सुगुर, बाख्राको आठ खुट्टे पाठी, कुखराको चार खुट्टे चल्ला, सेता काग, नेपालबाटै लोप भइसकेको रामगाई र आदिमानव रामानिपिथेकसको बङ्गरालगायत दुर्लभ नमूना सङ्ग्रहित छन् ।

सङ्ग्रहालयका प्रमुख प्रा डा डङ्गोलले घुम्ती प्रदर्शनी, सेमिनार, गोष्ठी, तालीम सञ्चालन गरी जैविक विविधताको संरक्षणमा सङ्ग्रहालयको महत्व र संरक्षण शिक्षाबारे जनचेतना अभिवृद्धि गर्ने गरिएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !