२१ बैशाख २०८१, शुक्रबार

विश्व कीर्तिमानको तयारी पूरा


Nepalpatra

१० भदौ, काठमाडौँ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ ।

केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई सम्भव भएसम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न उहाँले आह्वान गर्नुभएको छ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोल्नुभएको थियो । त्यसबेला प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण नगरेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थाल्नुभएको हो ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गर्न लाग्नुभएको हो । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनुभएको छ ।

आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधा समेत छनोट गरिसकेको जानकारी दिनुभएको छ । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौँको जोरपाटीलाई कर्मथलो बनाउनुभएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनु भएको थियो । तर त्यसलाई प्रमाणीकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख (रेकर्ड) गिनिज वल्र्ड रेकर्डस्मा छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !