७ बैशाख २०८१, शुक्रबार

आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड दिने सरकारको निर्णय


google boy

३१ असार, काठमाडौं । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो ।

‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि भन्दै उनको नाममा आदित्य संरक्षण प्रतिष्ठान स्थापना भएको छ ।

को हुन् आदित्य दाहाल ?

बोल्न तथा हिँडडुल गर्न नसक्ने तर विलक्षण क्षमताका धनी बालक हुन् आदित्य । कहिल्यै विद्यालय नगएका उनी जस्तोसुकै प्रश्नको जवाफ लेखेर दिने गर्छन् ।

आदित्यले गरेका केही ठूला भविष्यवाणी कालान्तरमा सत्य सावित भएका छन् । सुशील कोइरालापछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र २०७२ सालभित्रमा संविधान जारी हुने भविष्यवाणी उनले पहिल्यै गरेका थिए ।

सुरुमा आदित्य अरु बालक झैं सामान्य थिए । ३३ महिनाको उमेरदेखि उनी विस्तारै हिँडडुल गर्न र बोल्न नसक्ने भए । त्यससँगै आदित्यमा हरेक प्रश्नको जवाफ लेखेर दिन सक्ने क्षमता पैदा भयो । उनले थुप्रै सामाजिक हितकारी सन्देशहरु पनि लेख्दै आएका छन् ।

सुशील कोइरालाको सरकारले गरेको आर्थिक सहयोगमा आदित्यलाई अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा लगेर उपचार गरिएको थियो । तर उनको शारीरिक स्वास्थ्यमा खासै सुधार आउन सकेन ।

झापाका शेषराज दाहाल र ईश्वरा दाहालका सुपुत्र आदित्य हाल काठमाडौंको कपनमा बसोबास गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत थुप्रै नेताहरु आदित्यसँग निकट छन् ।

आदित्यलाई हेर्न र भेट्न आउनेहरुको व्यवस्थापनका लागि आदित्य संरक्षण प्रतिष्ठान गठन गरिएको थियो । प्रतिष्ठानको नाम आदित्य स्वयम्ले जुराएका हुन् भने पदाधिकारीहरु पनि उनले नै छनोट गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !