२१ बैशाख २०८१, शुक्रबार

संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले गरे सम्पत्ति विवरण सार्वजनिक


reshambahadur-lama

१४ असार, २०७३ :- काठमाडौं, संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिष्द तथा प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा लामाले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा सात आना जग्गामा घर रहेको उल्लेख गरेका छन् । श्रीमती मेनुका राईको नाममा रहेको उक्त घर स्वआर्जनमा बनाएको उनले बताए ।

काभ्रेपलाञ्चोकको दाप्चा काशीखण्ड नगरपालिकामा पैतृक सम्पत्तिका रुपमा सगोलमा रहेको १३ रोपनी जग्गा र आमा डोलकुमारी लामाको नाममा घर रहेको छ । स्वआर्जन तथा दाइजो गरी ३० तोला सुन र २०० तोला चाँदी रहेको लामाको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैक काठमाडौँको गौशाला शाखामा रहेको खातामा स्वाआर्जनको दुई लाख तथा एभरेष्ट बैँक मैतिदेवीमा तलवभत्ताबापत प्राप्त गरेको पाँच लाख रकम रहेको छ ।

कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था अत्तरखेलबाट उहाँले ऋण लिएको उल्लेख गरे पनि कति लिएको भन्ने सम्पत्ति विवरणमा खुलाइएको छैन । उनीसँग टोयोटा जिप, होण्डा मोटर साइकल, डियो स्कुटी रहेकोमा सबै स्वआर्जनबाट खरिद गरेको उल्लेख गरिएको छ ।

सहायकमन्त्री लामाको ‘क’ वर्गको धुकुधु कन्स्ट्रक्सन कम्पनी प्रालि सञ्चालनमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !