२३ बैशाख २०८१, आइतबार

साउनदेखी नेपालमा पनि फोहोरबाट ग्यास निकाल्ने : ‘पाइलट प्रोजेक्ट’


power from dust

१२ असार, २०७३:- आगामी साउनभित्रै फोहोरबाट ग्यास बन्ने प्रविधि नेपाल भित्र्याइने भएको छ । युरोपियन युनियन र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो ।

‘साउन मध्यभित्रमा ग्यास अनि ग्यासबाट बिजुली उत्पादन गरिसक्छौं,’ महानगरका वातावरण विभाग प्रमुख रविमान श्रेष्ठले भने, ‘काम अघि बढिरहेको छ ।’
जैविक फोहोरलाई प्लान्टमा हालेर पेलेपछि ग्यास निस्कन्छ । यसबाट खाना पकाउनुका साथै बिजुली उत्पादन पनि गर्न सकिन्छ।

राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले कामको जिम्मा पाएका छन् । १ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राज एन्ड रिवाजका कुन्दनकुमार सिंहले जानकारी दिए । ग्यास उत्पादन गर्ने डाइजेस्ट प्लान्ट भारतको पुनामा बनिरहेको सिंहले जानकारी दिए । ‘यही महिनामा आइपुग्छ,’ उनले भने, ‘त्यसपछि उत्पादनको काम धमाधम हुन्छ । साउनको अन्त्यसम्ममा सञ्चालन गरिसक्छौं ।’

भात, दाल, तरकारीजस्ता भान्साबाट आउने फोहोर, तरकारी बजार, फलफूल बजारका फोहोर छुट्याएर त्यसबाट ग्यास उत्पादन गरिन्छ । प्लास्टिक, फलाम, तारलगायत फोहोर भने काम लाग्दैन । टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’ मा दुई डाइजेस्ट प्लान्ट राखिनेछ । प्लान्टमा फोहोर राखेर पेलिनेछ । यी प्लान्टबाट तीनवटा छुट्टाछुट्टै पाइप जडान गरिएका हुन्छन् । छुट्टाछुट्टै पाइपबाट ग्यास, पानी र फोहोर झर्छन् । ग्यास जम्मा गर्न बेलुन राखिनेछ । पानी र फोहोर टयांकीमा जम्मा हुनेछन् ।

यहाँ राख्न लागिएका प्लान्टमा दिनहुँ ३ टन फोहोर पेलिन्छ । त्यसबाट २ सय ५० एमक्यु (करिब ९६ किलो) ग्यास, २ सय केजी मल र १५ सयदेखि ३ हजार लिटरसम्म पानी उत्पादन हुने इन्जिनियर महेश शाहले जानकारी दिए । ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । ग्यास जम्मा गरिएको बेलुनबाट जेनेरेटरसँग कनेक्सन गराएपछि बिजुली निस्कन्छ ।

फोहोर पेलेर निस्केको ग्यास, पानी र मल सबै काम लाग्छन् । पानी गाडी धुन, फूलमा राख्न प्रयोग गर्न सकिन्छ । तर, पिउन भने हुँदैन । मलचाहिँ कृषिकार्यमा प्रयोग गर्न सकिन्छ । ‘फोहोरबाट ग्यास निकाल्न सकिन्छ भनेर प्रमाणित भएको छ,’ सिंह भन्छन्, ‘यो प्रविधिले फोहोर नियन्त्रण हुन्छ । आत्मनिर्भर हुन पनि सकियो । हाम्रो देशका अरू ठाउँमा पनि यो प्रयोग गर्न सकिन्छ ।’

वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन् । यहाँ पनि होटल, रेस्टुरेन्ट, स्कुलजस्ता बढी फोहोर उत्पादन हुने ठाउँमा यसको प्रयोग गर्न सकिने उनी बताउँछन् । श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा दिनमा ५ सय टन फोहोर उत्पादन हुन्छ । यो प्रोजेक्ट सफल भयो भने यसलाई विस्तार गर्न सकिने उनले बताए । ‘२/४ सयले खाना खाने ठाउँमा यसरी ग्यास उत्पादन गर्न उपयुक्त हुन्छ,’ सिंह भन्छन्, ‘भान्साको फोहोर प्लान्टमा हाल्यो । ग्यास उत्पादन गर्‍यो अनि तत्काल भान्सामा प्रयोग गर्न सकिन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !