१९ बैशाख २०८१, बुधबार

रासस स्थापनासँगै आलेख समाचारको शुरुवात


rss

१३ असार, हेटौँडा । क्रियाशील पत्रकार महिला मकवानपुरद्वारा महिला पत्रकारको लागि आलेख लेखनसम्बन्धी तीनदिने अनुशिक्षण कार्यक्रम मंगलबार हेटौँडामा शुरु गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले सो पत्रकारिता अनुशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै क्रियाशील रहनुभएका महिला पत्रकारले जिल्लाको ऐतिहासिक, कला संस्कृति उजागर गर्ने एवं कृषि उत्पादन, स्थानीय तहबाट भएका जनहितको निमित्त गरिएको विकासको पूर्वाधारका अतिरिक्त सर्वसाधारणको जीवनमा प्रभाव पार्ने खालका नयाँ आलेख लेखनलाई उच्च प्राथमिकतता दिनुपर्ने सल्लाह दिनुभयो ।

उक्त कार्यक्रममा आलेख लेखनका स्रोतव्यक्ति एवं राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्यले मुलुकमा राससको स्थापनासँगै समाचारका साथै राष्ट्रिय महत्वका विषयमा चिरस्मरणीय र राष्ट्रिय सरोकारका विषयमा आलेख समाचार काठमाडौँबाट छापिने पत्रिकाभन्दा पहिले राससले नै फिचर सेवा शुरु गरेको स्मरण गर्दै अब महिला पत्रकारले पनि अनुसन्धानात्मक विषयवस्तुको छनोट गरी आलेख लेख्न ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै जिल्ला जिल्लामा रहेका ऐतिहासिक महत्व भएका गढी, सम्पदा, पर्यटन, कृषिलगायत सर्वसाधारणको जीवनमा प्रभाव पार्ने स्वास्थ्योपचार गर्ने क्रममा चिकित्सक र उपकरणको अभाव, सरकारले विकासको पूर्वाधारका निमित्त छुट्टयाइएको बजेट सदुपयोग भएनभएको वा समयमा काम सम्पन्न गर्न नसकेका तथ्यांक लिई आलेख सेवालाई आकर्षक बनाउन सकिनेतर्फ पत्रकारको सोचमा परिवर्तन आउनु पर्दछ भन्नुभयो ।

क्रियाशील पत्रकार महिला संगठनका केन्द्रीय अध्यक्ष अमिका राजथलाले सातै प्रदेशका क्रियाशील महिला पत्रकारलाई समाचारका अतिरिक्त फिचर सेवामा उत्साहित तुल्याउन आलेख सेवा लेखनसम्बन्धी अनुशिक्षण कार्यक्रम आयोजना गरिएकाले अब क्रियाशील पत्रकारले दुर्गम भेगमा पुगेर खोजमूलक आलेख सेवा लेखन कार्यमा दक्षता बढाउन अनुशिक्षण उपयोगी हुने बताउनुभयो ।

सो कार्यक्रममा मकवानपुर जिल्लाबाट प्रकाशित हुने दैनिक पत्रिका, एफएम रेडियो र विभिन्न टेलिभिजनमा कार्यरत महिला पत्रकार गरी २५ जनालाई आलेख लेखनसम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालनमा ल्याइएको क्रियाशील महिला पत्रकार मकवानपुरका सचिव भावना रिजालले जानकारी दिनुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !