२२ बैशाख २०८१, शनिबार

८० औँ जन्मदिनमा नागरिकताको प्रमाणपत्र प्राप्त


८० औँ जन्मदिनमा नागरिकताको प्रमाणपत्र प्राप्त

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएका उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले हिजो नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन् ।

पैतिस वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न दुई-तीन दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा त्यसै बसेको उनले बताएका छन् । “जब श्रीमान्को मृत्यु भयो घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,” उनले सुनाए ।

श्रीमान्को नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि उनको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

८० वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो । विभिन्न सञ्चार माध्यममा उनका बारेमा समाचार सार्वजनिक भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङवा तामाङले उनको नागरिकता बनाउन सबै प्रक्रिया पू्रा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !