६ जेष्ठ २०८१, आइतबार

नेपालीहरुको शव ल्याउन चार्टर विमान पठाउने तयारी:नेपाल सरकार


nepal airlines

७,असार २०७३:- सरकारले अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमलामा मारिएका १२ जना नेपालीको शव ल्याउन चार्टन विमान पठाउने भएको छ । सोमबार बिहान सुरक्षा कामदार चढेको बसमा आतंकवादीले बम विष्फोट गराएका थिए । उक्त घटनामा १२ नेपाली र नेपाली मुलका २ जना भारतीय नागरिकको मृत्यु भएको थियो । ७ जना घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा घाइतेको उचित उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भइरहेको जनाएको छ । ‘जतिसक्दो छिटो शवहरुलाई नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउने कोशिसमा छौं,’ परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले भने ‘आवश्यक प्रक्रिया पूरा गरेर छिटो भन्दा छिटो नेपाल एयरलाईन्सको चार्टर विमान काबुल पठाउने तयारीमा छौं ।’ उनले नेपाल फर्किन चाहने अन्य नेपालीलाई पनि उक्त विमानमा ल्याइने बताए ।

परराष्ट्र मन्त्रालयले गृह, पर्यटन, रक्षा सहितका मन्त्रालयसँग आवश्यक समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए । सरकारकै पहलमा गम्भीर घाइते कृष्ण देउजा र मनबहादुर थापालाई थप उपचारका लागि दिल्लीको एपोलो अस्पताल ल्याइएको उनले जानकारी दिए । अन्य ३ जनालाई पनि भोलिसम्म दिल्ली ल्याइने उनले बताए ।

काबुलको अस्पतालभन्दा दिल्लीमा राम्रो उपचार भएकाले अफगानिस्तान सरकार मार्फत सम्बन्धित कम्पनीलाई दवाब बनाएर सरकारले घाइतेहरुलाई दिल्ली ल्याउने पहल गरेको हो ।
काठमाडौंमा शव ल्याएपछि परिवारले चाहेको स्थानमा पुर्‍याउने व्यवस्था समेत गरिने पौड्यालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !