२३ बैशाख २०८१, आइतबार

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।

आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाउनुभएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै छन् ।

विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् । नेपाली सुगम सङ्गीतमा उनको महत्वपूर्ण योगदान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !