६ जेष्ठ २०८१, आइतबार

दोलखामा सुख्खा पहिरो : एक जनाको मृत्यु, दुई घाइते


हुम्लामा पहिरो फाइल फोटो

दोलखा । दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । घटनामा दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका-१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो खसेको थियो ।

लामाबगरबाट लप्ची जाने सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर-१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोमा पुरिएर सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् ।

लामावगर- लप्ची सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे नासा हाइड्रो पावरमा कार्यरत उनीहरूमाथि पहिरो खसेको हो । सडक खन्ने क्रममा सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खसेको र उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुख्खा पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको थियो । मौसम प्रतिकूलताका कारण हेलिकोप्टर समेत जान नसक्दा घाइतेको उद्धारमा कठिनाइ भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !