१९ बैशाख २०८१, बुधबार

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव


केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गरेका छन् ।

अध्यक्ष लिङ्देनले सत्ता केन्द्रीत नभई आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक सङ्घर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रष्ट पारेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार समान विचार भएकासँग एकता तथा सहकार्य आवश्यक रहेको जनाइएको छ ।

बैठकमा महामन्त्री डा धवलसमशेर राणाले वृहत आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए । उनले भने, “अहिले प्रदेश प्रमुखले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आजै छलफल प्रारम्भ हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !